जगदुल्ला नदीबाट दुई ठूला जलविद्युत आयोजना बन्ने

१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।
एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ का लागि डीपीआरको कामसमेत चलिरहेको छ । नयाँ डीपीआर निर्माणकार्य जारी रहेको आयोजनाबाट ८२.३ मेगावाट विद्युत उत्पादन हुने जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।
जगदुल्लाको अहिले मुआब्जा, विद्युत खरिद बिक्री (पीपीए), लगायतका काम सम्पन्न भइसकेका छन् । विभिन्न निकायबाट सेयर लगानी गरेवापतको रकमसमेत भुक्तानीको कामसमेत चलिरहेको छ । विद्युत उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता सेयर, हाइडो«इलेक्ट्रिसिटी इन्भेस्टमेन्टले एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता सेयर, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता सेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर र स्थानीय तह (जलदुल्ला, मुड्केचुला) २३ लाख ४३ हजार सेयर गरी जम्मा ६३ लाख ४९ हजार तीन सय कित्ता सेयरवापत ६३ करोड ४९ लाख ३ हजार रुपैयाँको सेयरवापत रकम कम्पनीले लिइरहेको छ ।
विद्युत उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।
त्यस्तै विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको ५/५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धनात्मक सेयर रहेको छ ।
यही आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए । अधिकांश ठाउँबाट सेयरवापतको रकम आइसकेको र केही ठाउँको मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।
१०६ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले १२२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले एक सूचना निकालेर जगदुल्ला–ए आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पार्नका लागि बोलपत्र २१ अगष्ट २०२२ मा निकालेर नौ महिनामा प्रतिवेदन तयार पार्नेगरी बोलपत्र आह्वान गरिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । उनका अनुसार क्यासकेडका रूपमा निर्माण गर्न लागिएको यो आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।
विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र यो आयोजनाको अध्ययन सक्ने लक्ष्य छ । कम्पनीले जगदुल्ला ’ए’ जलविद्युत आयोजनाको ८२.३ मेगावाटमा लाइसेन्स लिएको छ । तर अध्ययनले १२२ मेगावाट बनाउन सकिने देखिएको छ । क्षमता संशोधनका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिइसकेको छ ।
यो आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । क्यासकेड आयोजना रहेका कारण हेडवक्र्स बनाइरहनु पर्दैन । सोही कारण जगदुल्ला जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्स बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्याएर विद्युत उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको पावर हाउस रहनेछ । आयोजनाको क्षमता संशोधनका लागि प्रस्ताव गरिएकाले लगानी कति हुने भन्ने एकिन नभएको बताइएको छ ।
डोल्पाकै जगदुल्ला नदीमा आयोजना निर्माण हुनेछ । एक वर्षमा पूर्वतयारी सकेर चार वर्षमा व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य छ । ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ मेगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।
पूर्वतयारीका काम हुँदै
कम्पनीले जगदुल्ला जलविद्युत आयोजना निर्माण अघिका पूर्वतयारीको कामहरू भइरहेको जनाएको छ । यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । एनईए इन्जिनियरिङ कम्पनीले चार वर्ष लगाएर विस्तृत अध्ययन गरेको हो । अहिले पहुँचमार्ग (एक्सेस रोड) निर्माणको काम चलिरहेको छ । ६ महिनामा पहुँचमार्ग निर्माणको काम सक्ने योजना छ । त्यसपछि खरिदमा गएर आयोजनाको काम सुरु गर्ने तयारी छ ।
कम्पनीले कामदार, परामर्शदाता, अफिसका लागि भवन निर्माणको ठेक्का निकालिसकेको छ । प्राविधिक सहयोगीको रूपमा परामर्शदाता हायर गर्ने बोलपत्र आह्वान गरिसकेको छ ।
जगदुल्ला डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ । यो आयोजना सुरुमा ३०७ मेगावाट जलाशययुक्त निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । कमजोर भूगोलका कारण क्षमता घटाएर अर्धजलाशयुक्त बनाउन लागिएको हो । यो आयोजनाका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न करिब ४५ किमिको १३२ किलो भोल्ट क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । नौ महिनामा प्रसारण लाइनको विस्तृत अध्ययन सक्ने योजना छ ।