नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५.१ सेकेन्डमा पूरा गरे । पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए ।
रत्न चौडनेश्वर माविका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेण्डको समय निकाल्दै तेस्रो भए । पुरुषतर्फ सञ्जय नेपाली चौथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बू छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौं स्थानमा रहे । महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेण्डमा दूरी पूरा गरिन् । एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अञ्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् ।
ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । यस्तै सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमश: चौथोदेखि दशांँ स्थानमा रहे । दुवै विधाको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौंदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा करिव २ सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।