Logo

डेढ करोडमा स्वास्थ्यचौकी भवन

गुल्मीको चन्द्रकोट गाउँपालिकामा डेढ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले नि:शुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो । भण्डारी दाजुभाइले ७ लाखमा ५ रोपनी जग्गा किनेर स्वास्थ्यचौकीलाई नि:शुल्क प्रदान गरेका हुन् ।

स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै गाउँपालिकाका वर्तमान अध्यक्ष केसीले जग्गादातालाई धन्यवाद दिए । गाउँपालिका सबैको सल्लाह र सुझावबाट अगाडि बढेको बताउँदै केसीले स्वास्थ्य क्षेत्रमा आफूहरू गम्भीर रहेको बताए । अध्यक्ष केसीले नयाँ भवनबाट प्रदान गरिने सेवाहरू गुणस्तरीय बन्नेसमेत बताए । गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जग्गादाताको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा आफूहरूले धेरै काम गर्ने बताएका छन् ।

जग्गादाता भण्डारी दाजुभाइले स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गर्न पनि सहयोग गर्ने बताएका छन् । भवनको ४ फागुन २०७७ मा तत्कालीन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले शिलान्यास गरेका थिए । स्वास्थ्यचौकीको भवन डीएनडी पुष्पाञ्जली जेभीले १९ माघ २०७७ मा सम्झौता गरी १ माघ २०७८ मा निर्माण सम्पन्न गरेको थियो । कार्यक्रममा जग्गादाता भण्डारी दाजुभाइ र निर्माण व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्