टीआई नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको आज २०७९ असोज ७ गते सम्पन्न २७ औं वार्षिक साधारणसभाले पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुन: निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमासबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सीताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरिबहादुर थापा, सुनिता गुरुङ र राष्ट्रिय व्यवसायिक पहललाई निर्वाचित गरेको छ ।
अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचार विरुद्धको राजनितिक प्रतिबद्धता र शून्य संवेदनशीलता नारामा मात्र सीमित रहेको जनाएको छ । संघीय संरचना र लोकतान्त्रिक व्यवस्था सुदृढ भई आम नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अझै कार्यान्वयन हुन नसकेको पनि उल्लेख गरिएको छ ।
सभामा उपस्थित सदस्यद्वारा संस्थाको सक्रियता र प्रभावकारिता बढाउन, नागरिक पहरेदारको भूमिका शशक्त बनाउन र नयाँ रणनिति मार्फत संस्थालाई अघि बढाउन पर्ने जस्ता कुरामा जोड दिइएको छ । नवनिर्वाचित कार्यसमितिलाई भ्रष्टाचारको विरोधमा प्रभावकारी पहल गर्न सभाले सुझाव दिएको छ ।