Logo

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा नेपालगन्जका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आन्दोलित व्यवसायीले नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक घण्टा धर्ना दिएर बैंक तथा वित्तीय संस्थालाई चेतावनी दिँदै ज्ञापन पत्र बुुझाएका छन ।
लामो समयदेखि कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीकाबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्नमा छन् । यस्तो बेला सरकारले व्यवसायीलाई सहुलियत दिनुको साटो एकपछि अर्को नियमहरु ल्याएर उद्योग व्यापार क्षेत्रमा त्रास सिर्जना गरेकोले आन्दोलनमा उत्रिनु परेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए । “बैंक तथा वित्तीय संस्थाको लगानी नहुँदा अहिले नेपालगन्जका बजारमा ८० प्रतिशत व्यापारमा ह्रास आएको छ” उनले भने, “सरकारले सहुलियत दिनुपर्ने बेला ब्याजदर बढाउनुका साथै कर्जा पाउन समस्या बनाएर व्यापारीलाई समस्या छ ।” पछिल्लो समय बैंकहरुले व्यवसायीलाई विभिन्न बहानामा सताएको भन्दै त्यस्ता बैंकमा संघले तालाबन्दी गर्ने उनको भनाइ छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ल्याएको प्रावधानले धेरै व्यवसायीहरु टाट पल्टेर पलायन हुने स्थिति आएको भन्दै व्यावसायीहरुले चिन्ता ब्यक्त गरेका छन । संघका महासचिव चिरिन्जीवी ओलीले विगतमा ७ प्रतिशत व्याजदर तिर्नेगरी कर्जा लिएका व्यवसायीले अहिले १८ प्रतिशतसम्म तिर्नुपर्ने अवस्था आएको बताए ।
कोरोना महामारीले धरासायी भएको अर्थतन्त्र उकास्न नपाउँदै विश्व व्यापारमा देखिएको मन्दीका कारण स्वदेशी उद्योग व्यापार तंग्रिन सकेको छैन । विभिन्न कारणले ब्यवसायमा गिरावट आउँदा पनि चालू पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको छ । यी समस्याको समयमै निराकरण गरी लगानीमैत्री वातावरण बनाउन व्यवसायीले माग गरेका छन् । उनीहरुले माग पूरा नभए आन्दोलन झन सशक्त बनाउने चेतावनी दिएका छन् ।

चर्को ब्याज वृद्धि रोक्न अर्थमन्त्री शर्मालाई ज्ञापन पत्र
बैंक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदर रोक्न संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई संघले ज्ञापन पत्र बुझाएको छ । अर्थमन्त्री शर्मालाई संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको टोलीले शनिबार नेपालगन्जमा ज्ञापन पत्र बुझाएका हुन् ।
अर्थमन्त्री शर्माले ब्याजदर पुनरावलोकनका सम्बन्धमा आइतबार मन्त्रालयमा छलफल गर्ने बताएका थिए । प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाको उपस्थितिमा संघमा महासचिव चिरञ्जीवी ओली प्रवक्ता टंक धामी, वरिष्ठ सदस्य वसन्त लामिछाने, सदस्यद्वय टंकप्रसाद शर्मा र श्याम सुन्दर अधिकारीले अर्थमन्त्री शर्मासँग भेट गरेका थिए ।

नाकामा संघको उपभोक्ता सचेतना कार्यक्रम
नेपालगन्ज उद्योग वाणिज्य संघले जमुनाह नाकामा उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । ‘स्वदेशमा खरिददारी गरौ, देशको अर्थतन्त्र बचाऔं’ भन्ने नाराका साथ संघका पदाधिकारी र व्यवसायीहरु नाकामै पुगेर सचेतना कार्यक्रम गरेका हुन् । हातहातमा प्लेकार्ड र पर्चा समातेका संघको टोलीले खासगरी सामान किन्नकै लागि रुपैडिहा जाँदै गरेका र फर्किदै गरेका नेपाली ग्राहकलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका थिए ।
सचेतना कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमापारीवाट गुणस्तरहिन, म्यादसकिएका सामान ल्याउनुपर्दा कतिपय उपभोक्ता ठगिनुपरेको बताए । सीमावारीवाट नै गुणस्तरीय समान खरिद गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन उनले आम उपभोक्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्