Logo

१३ देशका १ हजार ४ सय २५ जना खेलाडी पोखरामा

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता पोखरामा सुरु

पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडी सहभागी भएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा सहभागी हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा सहभागी भएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।
बिहीबारदेखि पोखरामा सुरु भएको उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार उद्घाटन गर्दै सो प्रतियोगिताले नेपालको समृद्धि, पर्यटन, राष्ट्रियता र भाइचाराको सम्बन्ध बढाएको बताए । मुख्यमन्त्री पोखरेलले खेलाडीहरूले खेल खेल्ने काम मात्र नभई सद्भावना दूतका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । प्रतियोगिताको महत्वलाई व्यक्ति, समाज र राष्ट्रले बुझेकाले तेक्वान्दोको विश्वस्तरीय प्रतियोगिता पोखरामा गर्न सहयोग गर्ने विश्व तेक्वान्दो महासंघलाई धन्यवाद दिँदै यसलाई प्रदेश सरकारले समेत सहयोग गरेको जनाए । आगामी दिनमा गण्डकी प्रदेशभित्र खेल पूर्वाधार निर्माणका लागि केन्द्र सरकारसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चुङ वाङ चोइले विश्वभरका तेक्वान्दो खेलाडी पोखरा आएर खेल्न पाउनु सौभाग्यको विषय भएको बताए । अन्नपूर्ण र माछापुच्छ«ेको काखमा तेक्वान्दो खेल्नु खेलाडीका लागि सुखद रहेका उनले सुनाए । एसियन तेक्वान्दो यूनियनका अध्यक्ष प्रोफेसर क्यू सिको लिले सुन्दर नगरी पोखरामा प्रतियोगिता आयोजना गरेर आयोजकले पोखरासँगको सामिप्यता बढाउने काम गरेको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले खेल क्षेत्र चलायमान गराएको बताए । प्रदेशमा खेल गतिविधि बढेकाले सरकारले पूर्वाधारमा विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले यस प्रतियोगिताले गण्डकीमा हुने नवौं खेलकुदलाई सहयोग पुर्‍याउने अपेक्षा गरे ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र कार्यकारिणी समितिका अध्यक्ष तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले प्रतियोगिता लामो संघर्षपछि नेपालका भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । संघ गण्डकीका सचिव रमेश पौडेलका अनुसार प्रतियोगिताअन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जि–२ र्‍याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेलहरू भइरहेका छन् ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुदपरिषद् गण्डकी, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन एभरेष्ट इन्सोेरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल एसविआई बैंक लिमिटेड, इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसियसन, कर्माचार्य फुड्स एन्ड बेकर्स प्राली, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषद, वुद्ध इएर, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, हिमालयन अफिस अटोमेसन, भायनेट, नेपाल पूर्वखेलाडी मञ्चलगायतको सहयोग गरेका छन् ।
यसका साथै अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षकहरू, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजारभन्दा बढीको सहभागिता अपेक्षा गरेको उनले विश्वास लिए । उक्त प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका, अमेरिका, बंगलादेशलगायतका देशका खेलाडीहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्