१२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप गरेको छैन: डा. बाबुराम भट्टराई «

१२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप गरेको छैन: डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन् ।
बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याउनु भएको हो । माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो ।
पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए । त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौति दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको सुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ । उनले भने, ‘कटुवाल प्रकरणमा उहाँले पनि भुमिका खेल्नुभएको रहेछ । त्यो उहाँले स्वीकार गर्नुभएको छ । त्यतिबेला हामीले के आगो ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए । वास्तवमा दुइवटा सेनाको ठीक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रिकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो । तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले राष्ट्रपतिले असंवैधानिक कदम पछिल्लो त आएको छ । तर, असंवैधानिक कदमको शुरुवात त्यतिबेलै भएको थियो । त्यसैलाई पनि उहाँले अलिकति यहाँ राख्नुभएको छ । त्यसले इतिहासप्रति न्याय गर्दैन किनकी त्यो सत्य थिएन ।’
उनले तत्कालीन बिद्रोही माओवादी र सत्तारुढ दलहरूका बीचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताए । उनले १२ बुँदे समझदारीको सुरुवात नेपाली राजनीतिक दलहरूले नै गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्