पर्वत अस्पतालमा ज्वरो, डेंगु र स्क्रब टाइफसका बिरामीको चाप

पछिल्लो एक सातायता पर्वत अस्पतालमा विभिन्न रोगका बिरामीको चाप उल्लेख्य मात्रामा बढेको छ । मौसमको परिवर्तनको बेलामा हुने ‘भाइरल फिवर’ र ‘डेंगु’ तथा स्क्रब टाईफसको प्रकोपका कारण पर्वत अस्पतालमा बिरामीहरूको चाप ह्वात्तै बढेको हो ।
सामान्य अवस्थामा दैनिक ६० देखि ८० जना बिरामी आउने गरेको पर्वत अस्पतालमा अहिले दैनिक २ सय भन्दा बढिको संख्यामा बिरामीहरु परिक्षणका लागि आउने गरेका छन् । अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउनेहरू तथा भर्ना भएर उपचार गर्नेहरूको संख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेंगु’ को लक्षण एकै प्रकारको रहेका कारण पनि ‘डेंगु’ को आशंकामा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीहरूको चाप बढेको हो । सूचना अधिकारी उपाध्यायका अनुसार हालसम्म पर्वत अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आएकामध्ये हालसम्म २५ जनामा ‘डेंगु’ को संक्रमण भएको पुष्टि भएको छ । गत साउनको पहिलो हप्तामा कुश्मा नगरपालिकाका दुई युवामा ‘डेंगु’ को संक्रमण रहेको पुष्टि भएको थियो । तीन महिनाको अवधिमा पर्वत अस्पतालमा मात्रै उक्त सङ्ख्याले ‘डेंगु’ का बिरामीहरू बढेको र यस्तै अवस्था जिल्लाका अन्य ठाउँमा पनि भएको हुन सक्ने उपाध्यायको भनाइ छ ।
“साउनको पहिलो हप्तामा दुई जनामा देखिँदा नागरिकमा जति डर थियो अहिले २५ जना पुग्दा पनि डराएको पाइँदैन । लामखुट्टेबाट जोगिनको लागि जे जे गर्नुपर्ने भनिएको छ, त्यो गरिएको पाइएको छैन,” उनले भने । ‘डेंगु’ संक्रमण भएका बिरामीहरूमध्येका धेरै जसो हिँडडुल नगरी एकै ठाउँमा बसिरहने कर्मचारी तथा व्यवसायीहरु रहेका छन् । दिउँसोको समयमा टोक्ने लामखुट्टेबाट बच्नको लागि अवलम्बन गर्नुपर्ने भनिएका मापदण्ड पालना नगर्दा कार्यालयमा बसेर सेवा दिनेहरू बढी प्रभावित भएका छन् । हिँड्डुल गरिरहेको अवस्थामा लामखुट्टेले खासै टोक्दैन तर स्थिर अवस्थामा रहेको व्यक्ति भएमा लामखुट्टेलाई सजिलो हुन्छ ।
सुत्ने बेलामा झुल टाँगेर सुत्ने, लामखुट्टेले टोक्न नसक्ने गरी शरीर ढाक्ने खालका कपडाहरू लगाउने लगायतका पूर्व सावधानी अपनाउनुपर्ने भनिए पनि यही सावधानी अपनाइएको खासै नदेखिएको अस्पतालले जनाएको छ । डेंगुको बारेमा थाहा पाएका व्यक्तिहरूले नै लापरबाही गरेर गमला वा गाग्रीमा राखिएको पानी नढाक्ने, घर वरपरका पानी जम्मा हुने खाडलहरू नपुर्ने लगायतका गरेको पनि देख्न पाइन्छ ।
यही बेलामा मौसम परिवर्तनको बेला भएकाले ‘भाइरल फिवर’ का बिरामीहरूको संख्या पनि तीव्र बढिरहेको छ । पर्वत अस्पतालको तथ्यांक अनुसार अहिले दैनिक करिब दुई सय जनाको ओपिडीमा स्वास्थ्य परीक्षण हुने गरेको छ ।
तीमध्येका अधिकांश रुघा, खोकी, ज्वरो, हातखुट्टा खाने, टाउको दुख्ने, लगायतका लक्षण भएका ‘भाइरल फिवर’ का बिरामीहरू रहेका छन् । ‘डेंगु’ र ‘भाइरल फिवर’ को लक्षण एकै प्रकारको हुने भएका कारण परीक्षणका लागि आएका धेरैले डेंगुको शङ्का गरे पनि उनीहरू ‘भाइरल फिवर’ का बिरामीहरू रहेका छन् । उनीहरूको उपचार पनि एकै प्रकृतिको हुने र प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गरेमा विस्तारै निको उपाध्यायले बताए ।
पर्वत अस्पतालका अनुसार स्वास्थ्य परीक्षणको लागि आएका एकजना बिरामीमा ‘स्क्रब टाइफस’ को पनि पुष्टि भएको छ । ‘स्क्रब टाइफस’ ‘ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ । ‘स्क्रब टाइफस’ हुँदा उच्च ज्वरो आउने, असाध्य टाउको दुख्ने, आँखाको सेतो भाग रातो देखिने, कानमा कृत्रिम आवाज सुन्निने, सास फेर्दा असहज महसुस हुने, शरीरमा बिबिरा देखिने, पसिना आउने लगायतका लक्षणहरू देखा पर्ने चिकित्सकहरूले बताएका छन् ।