म्यानमारको सेनाले फेरि युद्ध अपराध गरयो : एमनेस्टी

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले म्यानमारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप लगाएको छ ।
रखाइन राज्यमा सक्रिय विभिन्न छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना दिएको र मनोमानी ढंगले मानिसहरूलाई पक्राउ गरेको एमनेस्टीले दाबी गरेको छ ।
एमनेस्टीद्वारा हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा सेनाले गरेको गतिविधिलाई युद्ध अपराधको संज्ञा दिएको छ ।
सेनाले भने उक्त आरोप अस्वीकार गरेको छ । तर, हिरासतमा रहेका ६ जना निःशस्त्र व्यक्तिको गत महिना हत्या गरिएको अभियोग भने म्यानमारको सेनाले स्वीकार गरेको छ ।
हिंसा फैलिएको क्षेत्रका दर्जनौँ स्थानीय बासिन्दासँगको कुराकानी, त्यहाँको तस्बिर, भिडिओ र स्याटेलाइट तस्बिरको अध्ययन गरेपछि एमनेस्टीले त्यस्तो आरोप लगाएको हो ।
यसअघि सन् २०१७ मा पनि म्यानमारको सेनाले रोहिन्ज्या मुस्लिममाथि ठूलो दमन गरेको तथा मानवाधिकार उल्लंघन गरेको आरोप लगाएको थियो ।
त्यतिबेला अल्पसंख्यक जातीय समूहमाथिको कारबाहीका कारण ७० हजारभन्दा बढीले म्यानमार छोडेका थिए ।
अराकन आर्मी रिबेल्स नामक समूहलाई परास्त गर्न सरकारले आदेश दिएपछि सेनाले अहिले फेरि नयाँ कारबाही अघि बढाएको बताइएको छ ।
एमनेस्टीले तयार पारेको प्रतिवेदनमा सातवटा गैरकानुनी आक्रमणमा परेर १४ जना सर्वसाधारण मारिएको र २९ जना घाइते भएको बताइएको छ ।
एमनेस्टीले अराकान आर्मीमाथि पनि अपहरण गरेको र नागरिकलाई दुःख दिएको आरोप लगाएको छ । यो आरोपको पनि सो समूहका प्रवक्ताले खण्डन गरेको समाचारमा जनाइएको छ ।