Logo

पातारासीको जोड सडक, कृषि र शिक्षामा

संविधानको धारा २९५(३) बमोजिम संघीय संरचना अनुसार निर्माण भएका मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये एक हो, जुम्लाको पातारासी गाउँपालिका । यस गाउँपालिकाको पूर्वमा डोल्पा, पश्चिममा चन्दननाथ नगरपालिका, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा गुठीचौर गाउँपालिका अवस्थित छ । गाउँपालिकाको केन्द्र पातारासी–५, लासी बजारमा तोकिएको छ ।
पातारासी गाउँपालिका कृषि, पर्यटन, जडीबुटी र जलविद्युत्को प्रचुर सम्भावना बोकेको पालिका हो । विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमचौर ज्युलो, एक रुपैयाँको नोटमा भएको चंखेली हिमाललगायत धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थललगायत कृषिका प्रशस्त सम्भावना पातारासीमै छन् ।
डेढ दर्जनभन्दा बढी लघुजलविद्युत् सञ्चालित छन् । जिल्ला सदरमुकाममा बत्ती आउने/जाने भए पनि दुर्गम पातारासीका सबै बस्ती झिलिमिली छन् । अघिल्लो पाँचवर्षे कार्यकालमा जनप्रतिनिधिले पातारासीलाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने योजना सफल हुन सकेन । तर, अघिल्ला जनप्रतिनिधि पातारासीका २६ वटा बस्तीका ३५ सय घरधुरीलाई पाँच वर्षमा विद्युत्को पहुँचमा पुर्‍याउन सफल भए ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पातारासीको विकासका लागि सडक विस्तार, शिक्षा, स्वास्थ्य, कृषि र जडीबुटीको प्रवद्र्धनमा जोड दिएका छन् ।
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “पातारासी कृषि, पर्यटन र जडीबुटीका हिसाबले सम्भावनायुक्त पालिका हो । तर, पातारासीको शैक्षिक अवस्था भने नाजुक छ । शिक्षा क्षेत्रलाई माथि उकास्न र कृषिका सम्भावनालाई अवसरमा बदल्न नीति कार्यक्रम र बजेटमा जोड दिएका छौं ।”
कृषि, पर्यटन, जडीबुटी र जलविद्युत्को अथाह सम्भावनालाई अवसरमा बदल्न पातारासी गाउँपालिकाले पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र जलविद्युत् विकास तथा सडक विस्तारलाई जोड दिइने अध्यक्ष बोहोराको भनाइ छ ।
पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घरधुरीलाई बितेको साढे चार वर्षमा विद्युतीय पहुँचमा पुर्‍याउन पातारासी गाउँपालिका सफल भएको छ । यद्यपि चुकेनी विद्युत् उत्पादनमा ढिलाइ हुँदा विद्युतीकरणमा समस्या भएको छ ।
पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले भने, “पातारासीले सडक स्तरवृद्धिलाई पहिलो प्राथमिकता दिएको छ । सातवटै वडामा सडक पुगिसकेका छन् । तर स्तरवृद्धि नहुँदा यातायात पहुँच पुग्न सकेको छैन । ग्राभेल, नाला निर्माण गरिँदै छ भने बालविवाह गर्ने, जडीबुटी संकलनमा व्यस्त हुने तथा अभिभावकमा चेतनाको कमी भएकाले पातारासीको शैक्षिक अवस्था पनि कमजोर छ । त्यसैले सडक स्तरवृद्धि, शैक्षिक उन्नयनका क्षेत्रमा विशेष प्राथमिकता दिएका छांै ।”
चालू आवमा विनियोजित ४५ करोड बजेटमध्ये ९ देखि १० करोड पुँजीगत बजेट छ, जसमा सडक स्तरवृद्धि, कृषि रैथाने बाली उत्पादनमा वृद्धि र शैक्षिक अवस्था सुधारका लागि सफ्टवेयर र हार्डवेयरका क्षेत्रमा बजेट लगानी गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत धितालले उल्लेख गरे ।
बढ्दो रैथाने बालीको उत्पादन वृद्धि, छुमचौर ज्युलोको पर्यटन प्रवद्र्धन, पुल निर्माण र सातवटै वडामा पुगेका सडकको स्तरवृद्धिमा पालिकाको जोड छ । पातारासीका विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन तथा पर्यटन प्रवद्र्धनका लागि सडक स्तरवृद्धिमा जोड दिएको हो ।
जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी विद्युत्मा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । पातारासी ७ वटै वडामा रैथाने बाली उत्पादनवृद्धिका लागि एक वडा एक पकेट क्षेत्रसमेत निर्धारण गरिएको छ ।
पातारासीमा गत पाँच वर्षमा डेढ दर्जनभन्दा बढी विभिन्न ऐन–कानुन निर्माण भएका छन् । नयाँ जनप्रतिनिधि आइसकेपछि नयाँ नीति बनेका छैनन् । पातारासीका चारवटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । पातारासीका सातवटै वडाका २६ बस्तीमा सडक पुगेका छन्, तर स्तरवृद्धि नहुँदा यातायात पहुँच पुग्न सकेको छैन, जसका कारण चालू आवमा सडक स्तरवृद्धिलाई पहिलो प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत धितालले कारोबारलाई जानकारी दिए ।
सानैमा विवाह गर्ने, विद्यालयभन्दा घरकै काममा व्यस्त हुने, जडीबुटी संकलनमा जोड दिने र अभिभावक चेतनाको कमीले पातारासीको शैक्षिक अवस्था जिल्लाकै कमजोर भएकाले शिक्षा क्षेत्र सुधारमा जोड दिइएको हो ।
पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले आफ्नो पाँचवर्षे कार्यकालमा महिला सशक्तीकरण तथा न्यायिक कार्य सम्पादनलाई सरल, सहज बनाउने बताइन् । कृषि उत्पादनका हिसाबले पनि जिल्लाकै अन्नभण्डारका रूपमा प्रचलित पातारासीको कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीति बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्