नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक सम्पन्न

नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव पंकज कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राईको सह–अध्यक्षतामा काठमाडौँमा सम्पन्न भयो ।
यसअघि २०७९ असोज ५–६ गते गंगा बाढी नियन्त्रण आयोग, पटनाका अध्यक्ष एम.के. श्रीनिवास र जलस्रोत मन्त्रालयका सह–सचिव शिशिर कोईरालाको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक भएको थियो । यी दुई बैठकमा भारत र नेपालबीच जलस्रोतका क्षेत्रमा भएका सहकार्यबारे बृहत छलफल हुनुका साथै महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे छलफल भयो । डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समितिलगायतका द्विपक्षीय समितिले गरेका प्रगतिबारे पनि बैठकमा छलफल भयो ।
माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउने सहमति भएको छ । विज्ञहरूको संयुक्त टोलीको बैठक चाँडै हुने अपेक्षा गरिएको छ ।
सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा जारी गरिएको उर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त भिजन विज्ञप्तिको स्मरण गर्दै जलस्रोत सम्बन्धी संयुक्त समितिले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि सन् २०२३ मार्चसम्म थप्नुका साथै विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्ने कुरामा सहमति जनायो ।
प्रधानमन्त्रीको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले आ–आफ्ना देशका सम्बन्धित अधिकारीलाई परियोजनाको प्रतिवेदन यथासक्य चाँडै तयार पार्न निर्देशन दिएका थिए ।
बैठकमा नेपाललाई सिंचाइ, बाढी व्यवस्थापन, डुबान नियन्त्रण, नदीको बाँध निर्माण लगायतका क्षेत्रमा सहयोग गरेकोमा नेपाली पक्षले भारतको सराहना ग¥यो भने भारतीय पक्षले दुई देशबीचको अद्वितीय सम्बन्ध र आपसी हितका लागि जलस्रोतको उचित व्यवस्थापन र उपयोगको महत्वबारे प्रकाश पा¥यो ।
बैठकपछि भारतीय जलस्रोत सचिव पंकज कुमारले उर्जा तथा सिंचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरे।