पर्यटकीय सम्भावना बोकेको काभ्रेको तेमाल

देशको राजधानी काठमाडांैबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ किमि पूर्वमा पर्छ भने सदरमुकाम धुलिखेल ३१ किमिको दूरीमा छ । समुद्री सतहदेखि ३ सय १८ मिटरदेखि ३ हजार १८ मिटरसम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू–धरातलले भरिएको छ । पूर्व १ नं. क्षेत्रका २८ मौजामध्ये काभ्रे र पलान्चोक नामका दुई ठूला मौजाभित्र रहेका विभिन्न गाउँ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रसिद्ध पलान्चोक भगवतीबाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।
काठमाडौंबाट करिब ८० किलोमिटरको दूरीमा पर्छ काभ्रेको तेमाल क्षेत्र । काठमाडौंबाट यात्रा सुरु गर्दा अरनिको राजमार्ग हुँदै भक्तपुर जिल्ला पार गरेपछि काभ्रेपलान्चोक जिल्लाको सिमाना साँगामा पुगिन्छ । साँगाको शिव मन्दिरको दर्शन गर्दै हरियाली दृश्यको अवलोकनपश्चात् जिल्लाका प्रमुख सहर बनेपा हुँदै धुलिखेल पुगिन्छ । धुलिखेलबाट दायाँ मोडिएपछि बीपी राजमार्गबाट यात्रा अगाडि बढ्छ । सहरको कोलाहलपूर्ण वातावरणलाई बिर्सिएर अब ग्रामीण परिवेशलाई नियाल्दै, स्वच्छ हावा खाँदै, हरियाली वातावरणलाई नियाल्दै बीपी राजमार्गको यात्रा गर्न सकिन्छ ।
जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको यस राजमार्ग हेर्दै लोभलाग्दो छ । तर, साँघुरो र घुमौरो बाटो हुनाले सुरक्षित यात्रा गर्न भने जरुरी छ । धुलिखेलबाट करिब २३ किलोमिटरको यात्रापश्चात् नमोबुद्ध नगरपालिकाको भकुन्डेबेसी पुगिन्छ । भकुन्डेबेसीबाट बीपी राजमार्गलाई छोडेर बायाँतर्फ मोडिएपछि ग्रामीण सडकको यात्रा सुरु हुन्छ । कतै पक्की, कतै ग्राभेल कच्ची सडकको उकाली–ओराली गर्दै यात्रा अगाडि बढ्छ ।
नमोबुद्ध नगरपालिकाको सिमाना समाप्त भई तेमाल गाउँपालिकाको सिमाना प्रारम्भ हुन्छ । राजधानीबाट सार्वजनिक सवारी साधनमा करिब ४ देखि ५ घण्टाको यात्रापश्चात् तेमाल पुग्न सकिन्छ भने निजी सवारी साधनमा भने ३ देखि ४ घण्टाको यात्रामा पुग्न सकिन्छ । यहाँ पुग्न काठमाडौंबाट बसको सुविधा छ भने बनेपाबाट पनि सार्वजनिक बस पाइन्छ । काठमाडौंबाट निजी सवारीबाट सबेरै यात्रा तय गर्ने हो भने बेलुका घर फर्कन सक्ने दूरीमा तेमाल रहेको छ ।
यहाँ आइपुग्दा प्राकृतिक छटामा रमाउन सकिन्छ । जुनै उमेर समूहका मानिसहरू उहाँ घुम्न जान सक्छन् । यदि यहाँको वातावरणमा समाहित हुने हो भने एक रात बस्न जरुरी छ । तेमाल पुगिसकेपछि गाउँले परिवेश, तमाङ समुदायको रहनसहन, वेशभूषालाई नजिकबाट नियाल्न सकिन्छ । यतिमात्र होइन, यहाँबाट सुन्दर हिमालका दृश्यावलोकन पनि गर्न सकिन्छ । एकातर्फ रोसी खोला, अर्कातर्फ कोसीको डाँडामा रहेको तेमाल क्षेत्र स्वर्गको एक टुक्राझैं लाग्छ । डाँडामा बसेर वरिपरिका पहाडी भू–भागलाई नियाल्दा यहाँबाट छुट्टिनै मन लाग्दैन । बौद्ध धर्मावलम्बीहरूले अधिक मात्रामा उपयोग गर्ने बोधिचित्त माला यस भेगमा प्रशस्त मात्रामा पाइन्छ, जसको अवलोकन गर्न सकिन्छ । धार्मिक रूपमा पनि अत्यन्त महŒव बोकेको यस भेगमा श्री सत्यनारायण मन्दिर, ध्यान गुम्बा, बौद्ध गुम्बा, रक्तकालिका मन्दिरको अवलोकन गर्न सकिन्छ भने तामाङ राजा रिञ्जेनको भग्नावशेष दरबार अवलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानका लागि मनस्थिति बनाउने हो भने होमस्टेको समेत प्रबन्ध हुँदा बासस्थानको समस्या भने भोग्नु पर्दैन ।
– विनोद पौडेल