Logo

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न आह्वान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गरेकी छन् ।
बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन् । उनले सामाजिक संघसंस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताइन् । मन्त्री रेग्मीले परिषद्मा आबद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारी रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामकारबाहीलाई परिषद्ले अत्यन्त सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताइन् । उनले गैरसरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी तथा वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन् । उनले सामाजिक संघसंस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामीण विपन्न व्यक्ति, समुदाय लक्षित कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको स्पष्ट पारिन् । मन्त्री रेग्मीले परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरूप परियोजना सञ्चालन गर्ने गरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुवात गरिएको पनि बताइन् । परिषद्को अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले सामाजिक संघसंस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाजकल्याण परिषद् कटिबद्धसमेत रहेको बताइन् ।
मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनका निमित्त टेन्डर प्रक्रियाबाट कामहरू सञ्चालन गरिरहेको बताइन् । उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्