Logo

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रूपान्तरण सम्भव छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन् ।
बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महŒवपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए । उनले यस्ता समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि नि:स्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए । उनले गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए । उनले १५ औं योजनामा उल्लिखित सामाजिक विकाससम्बन्धी उद्देश्य र दिगो विकाससम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैरसरकारी क्षेत्रले एकआपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुखी श्रमसीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्