बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन् । घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् । चोटका कारण सुनिल बल टोलीमा नपरेको मुख्य प्रशिक्षक प्रदीप हुमागाईले बताए । घोषणा गरिएको टोलीमा नयाँ दुई अनुहारले स्थान बनाएका छन् । थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका हुन् ।
यस्तै, टिममा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् । प्रशिक्षणका दौरान डेंगीको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न नपाएको कारण सेफ ल्याण्डिङका लागि चार गोलकिपर राखेको प्रशिक्षक प्रदीप हुमागार्इंले प्रस्ट पारे । प्रशिक्षणको क्रममा गोलकिपरका अलावा अन्य खेलाडीमा पनि डेंगी भएको बताए । डेंगी लाग्नेमा गौतम श्रेष्ठ, विकास खवास, भरत खवास, विशाल श्रेष्ठ, सुरज ज्यु ठकुरी रहेका थिए । नेपालले बंगलादेशसँग त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा असोज ११ गते मैत्रिपूर्ण खेल खेल्दैछ ।
नेपाली टोलीमा किरण चेम्जोङ (गोलकिपर), विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, डिफेन्डर अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल, मिडफिल्डर: तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक बिष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ, फरवार्ड: विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अञ्जन बिष्ट, आशिष चौधरी छन् ।