नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेश माग

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
राष्ट्रपति भण्डारीले नागारिकता विधेयक प्रमाणिकरण गर्ने संवैधानिक दायित्व पूरा नगरेको भन्दै प्रमाणिकरणका लागि परमादेश जारी गर्न मागसहित बिहीवार सर्वोच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता सागर बराल, सौगातराज बराल, कानुनका विद्यार्थी अविनेश अधिकारी लगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर संयुक्त रुपमा रिट दायर गरेका हुन् ।
रिट दायरपछि अधिवक्ता सागर बरालले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको भएपनि संविधान अनुरुप विधेयकलाई प्रमाणिकरण नगरी संविधानको उल्लंघन गरेको बताए । उनले राष्ट्रपति भण्डारीले संवैधानिक कू गरेकाले प्रमाणिकरणका लागि परमादेश माग गर्दै अदालतमा रिट दायर गरिएको बताए । दायर गरिएको रिटमा राष्ट्रपतिको नाममा संविधानको धारा १३३(२)(३) बमोजिम परमादेशको आदेश जारी गरिपाउँ भनि माग गरिएको छ ।