सरकारले लोकतान्त्रिक प्रणाली मिचेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानुन मिचेको आरोप लगाएका हुन् । उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्दमा राख्नु लोकतन्त्रको बिरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए ।
उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए । उनले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताए । अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानुनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गरे । उनले जोडजामवाला गठबन्धनका गलत मनाशाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यक्ता नरहेको बताए । उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानुनले दियो भन्दै प्रश्न गरे । उनले देश गृहमन्त्रीको घरबाट ल्याएको नभएको भन्दै २/४ महिना कोही व्यक्ति गृहमन्त्री बन्यो भन्दैमा लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अधिकार नरहेको बताए । उनले पक्राउ पूर्जी जारी नभई प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु गलत भएको बताए ।
अध्यक्ष ओलीले कुनैपनि सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार नरहेको भन्दै नागरिकता वितरण गर्ने नभइ प्रमाण पत्र दिने कुरा भएको बताए । उनले नेपाली नागरिकहरुले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरुले नै व्यवधान सिर्जन गरेर ऐन जारी गर्न नदिएको बताए । उनले गठबन्धनले निजी स्वार्थको भाषा मात्रै बोल्ने गरेको आरोप लगाए । अध्यक्ष ओलीले गठबन्धनको लक्ष्य के हो भन्दै प्रश्नसमेत गरे । उनले गठबन्धनको लक्ष्य जसरी पनि सत्ता प्राप्त गर्नु भएको बताए । उनले नेकपा माओवादी केन्द्र पार्टी नभइ क्लव भएको बताए । अध्यक्ष ओलीले माओवादी केन्द्र आफन्तहरुको क्लव भएको बताउँदै पार्टीको अस्तित्व रक्षाका लागि लागि परिरहेको बताए ।
अध्यक्ष ओलीले राष्ट्रपतिलाई अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताए । उनले अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताए । उनले संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाए । उनले अहिलेको गठबन्धन मसलको भाषा मात्रै बोल्ने गरेको भन्दै एमासँग आए तह लगाइदिने बताए ।
अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सरकार बनाएपछिको एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले नेकपा एमाले नागरिकता समस्या समाधान र सुकुम्बासी लगायतका समस्या समाधानको ग्यारेन्टी गर्ने पार्टी भएको बताए ।
बक्स
पूर्वआईजीपी खनाल एमालेमा प्रवेश
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा खनालले एमालेको सदस्यता लिन पाउँदा आफू हर्षविभोर भएको सुनाए । आम नेपालीको अपेक्षा, देशविदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी लागेको उनको भनाइ थियो । अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको उनले बताए ।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए। खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो । एमाले नेता तथा सांसद महेश बस्नेतसँग मिलेर खनालले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको बताइएको थियो ।
बिहीबार नै पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत पनि एमालेमा प्रवेश गरेका छन् । मियाँले काठमाडौं–६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । स्थानीय तहको चुनावपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।