एभरेष्ट बैंकको इ–पैंचो फोन लोन सुविधा

एभरेष्ट बैंकले इ–पैंचो फोन लोन सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ईबीएल टच २४ मार्फत विना धितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
इ–पंैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिन भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ ।
यसमा ग्राहकको योग्यता मापनमा विभिन्न प्यारामिटरको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैनलगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । साथै यसमा आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
इ–पैंचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा अहिले किनेर पछि भुक्तानी गर्ने सुविधा प्रयोग गर्न सक्ने छन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ–पैंचो फोनलोनमा दर्ता गर्नुपर्नेछ ।
इ–पैंचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ–पैंचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धीतो कर्जा लिन सक्ने छन् ।
इ–पैंचो फोनलोनका विषयमा बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले नेपालमा कर्जा पाउनु निकै कठिन रहेको बताए । इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन् ।