विमानस्थलको धावनमार्ग बिस्तार गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

दाङको एकमात्र टरिगाउँ विमान स्थलमा हवाई सेवा नियमित रूपमा सञ्चालन हुन सकेको छैन । राप्ती कै पुरानो टरिगाउँ विमान स्थलको धावन मार्ग छोटो भएको कारण देखाउँदै दाङको हवाई सेवा नियमित हुन नसकेको हो ।
२०११ सालमा स्थापना भएको विमान स्थल बन्द हुँदै सञ्चालन हुँदै आएको छ । विमानस्थललाई स्तरोन्नति गरी हवाई सेवालाई नियमित बनाउन विभिन्न समयमा छलफल हुने गरेको छ । तर त्यसले सार्थकता पाउन सकेको छैन । दलहरुको इच्छा शक्ति नहँुदा विमानस्थलको स्तर वृद्धि तथा नियमित हुन नसकेको स्थानीय बताउँछन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले दाङ एयरपोर्टको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठसहित शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले एयरपोर्टको निरीक्षण गरेका हुन् । निरीक्षणपछि मन्त्री श्रेष्ठले ७२ सिटे हवाज बस्न सक्ने गरी धावनमार्ग बिस्तार गरिने बताए । बिहीबार दाङ स्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले एयरपोर्ट बिस्तारका लागि राम्रै सम्भावना आफूले देखेको बताए । दाङ एयरपोर्टको स्तरोन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन तत्काल पहल हुने उनले बताए । केही सर्भे गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले दसैंपछि सर्भेका लागि प्राविधिक टोली खटाउले बाचा समेत गरे । “अहिलेको रनवे बढाउन उपयुक्त लोकेसन कहाँ हुन्छ त्यसको सर्भे गर्न जरूरी देखियो” उनले भने, “मोटामोटी एक खालको सर्भे पहिल्यै गरिएको भए पनि अब डिटेल सर्भे गरी के कति कहाँको जग्गा आवश्यक पर्छ त्यो हेर्नुछ ।”
एयरपोर्ट आसपासमा सार्वजनिक जग्गा र मुआब्जा दिनुपर्ने पर्ने जग्गाबारे विस्तृत अध्ययन गर्न प्राविधिक खटाउने उनले जानकारी दिए । दसैं लगतै सर्भेको काम सुरू हुने र त्यसपछि बजेट सुनिश्चित गरी धावन मार्ग विस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए । “हामी दाङ एयरपोर्ट बनाउने भनेर सकारात्मक सोचका साथ केन्द्रबाट सोझै अवलोकनका लागि दाङ आएका हौं” उनले भने, “यो एयरपोर्ट बन्नैपर्छ, अब हामी ७२ सिटे जहाज अवतरण गर्ने गरी धावनमार्ग बिस्तारमा लाग्ने छौं ।” दाङ जिल्ला एसिया कै ठूलो भ्याली भएको हुँदा तीव्र सहरीकरण वा वस्ती विकासको अवस्थालाई नियालेर सरकारले पनि दाङ एयरपोर्ट विस्तारलाई प्राथमिकतामा राखेको बताए । देशको साधन स्रोतलाई सबै ठाउँमा समानुपातिक रूपमा वितरण गरिने नीति अहिलेको सरकारले लिएको श्रेष्ठले तर्क गरे ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैले सकारात्मक सोचका साथ अगाडि बढ्न जरूरी रहेको बताए । “२०११ सालमा बनेको एयरपोर्ट पछिल्लो समय झन खस्किदै जाँदा लज्जाबोध भइरहेको छ” उनले भने, “म काठमाडौं जाँदा आउँदा बाँके वा भैरहवाबाट यात्रा गर्नुपर्दा निकै पीडा बोध हुने गर्छ ।” उनले पनि ७२ सिटे प्लेन बस्न सक्ने गरी टरिगाउँ एयपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैसाको अभाव हुन नदिने बताए ।
चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एयरपोर्ट भएकै क्षेत्र दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताए । उनले आफू एयरपोर्टमा राजनीति गर्न नआएको र एयरपोर्टलाई भोट बैंक बनाउन नआएको स्पष्ट पारे ।
तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर तथा दाङ एयरपोर्ट सहयोग समितिकी संयोजक श्यानी चौधरीले राज्यको सहयोग पाए ३ महिनाभित्रै आफैं खटेर एयरपोर्टको धावनमार्ग बिस्तार गरेर देखाइ दिने बताइन् । विमानस्थलको अवलोकनका लागि नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीसहितको टोली नेपालगन्ज हुँदै आएको हो । यसैअघि विमान स्थलको विस्तारको लागि दवाव दिनका लागि निजी क्षेत्रको पहलमा खुत्रुके अभियान सुरु गरिएको थियो ।