सीएनआई ‘स्कील ग्याप एनालाइसीस’ आयोजना

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ ।
परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।
यसैगरी दक्ष जनशिक्त उत्पादनका लागि शैक्षिक संस्थालाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ । दक्षता विश्लेषणमा सूचना प्रविधि, कृषि, आतिथ्यतालगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पाटर्नर मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो ।
मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारी माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको परिसंघको भनाइ छ ।
यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको परिसंघले जनाएको छ ।
सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकालाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने बताइएको छ ।