विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण दुई वर्षदेखि ठप्प प्राय: भएको व्यवसाय दसैंको बेला सुध्रिएला भन्ने आस गरे पनि दसैंको चहलपहल सुरु भइसक्दा समेत झापाको बजार सुनसान रहेको बिर्तामोडका व्यवसायी मनोज रौनियार बताउँछन् ।
दसैंले छोएन झापाका व्यवसायीलाई

नेपालीहरूको महान् चाड दसैंको चहलपहल सुरु भइसके पनि झापाका व्यवसायीहरूलाई भने दसैंले छुन सकेको छैन । चाडपर्वको समयमा पनि झापाका बजारमा मानिसहरूको चहलपहल नभएर व्यपार–व्यवसाय ठप्प प्राय: भएपछि व्यवसायीहरूलाई दसैंको रौनकताले छुन नसकेको हो ।
विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण दुई वर्षदेखि ठप्प प्राय: भएको व्यवसाय दसैंको बेला सुध्रिएला भन्ने आस गरे पनि दसैंको चहलपहल सुरु भइसक्दा समेत झापाको बजार सुनसान रहेको बिर्तामोडका व्यवसायी मनोज रौनियार बताउँछन् । उनले भने, “यसपालिको तीजमा समेत राम्रो व्यवसाय गर्न सकिएन । सोह्रश्राद्ध सुरु भएपछि दसैंको व्यापार हुन्छ कि भन्ने आस थियो, तर अहिले व्यापार सोचेजस्तो हुन सकिरहेको छैन ।” झापाका मुख्य बजारहरू बिर्तामोड, धुलाबारी, दमक, सुरुङ्गा, शिवसताक्षी, भद्रपुर र काँकरभिट्टा अहिले प्राय: सुनसान रहेको उनी बताउँछन् ।
दसैंको चहलपहल सुरु भइसक्दा पनि बजारमा किनमेलका लागि आउने ग्राहकहरूको चहलपहल नभएपछि व्यवसायीहरूमा निराशापन छाएको बिर्तामोडका व्यवसायी दुर्गा लम्सालले बताइन् । उनले भनिन्, “दसंैमा राम्रो व्यापार हुन्छ भनेर साहूसँग लाखौं रुपैयाँ ऋण काढेर सामान हालेको, अहिले व्यापार भने शून्य अवस्थामा छ । यस्तो भएपछि साहूको ऋण कसरी तिर्नु ?”
दसैंको आगमनसँगै नेपाली बजारभाउ अकासिन थालेको छ । सर्वसाधारणले खरिद गर्ने दैनिक उपभोग्य सामग्रीमा महँगी अत्यधिक हुँदै गएको छ । लत्ताकपडा र इलेक्ट्रोनिक्स सामग्री पनि उत्तिकै महँगो भएकाले नेपाली बजार सुनसानमय बनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
उनले भने, “देशमा आर्थिक संकट देखा पर्नु, महँगी अत्यधिक मात्रामा बढ्नु, किसानले लगाएको धानबाली नपाक्नु तथा आर्थिक कारोबार गर्ने वित्तीय संघसंस्थाहरूले ऋण लगानी नगर्दा व्यवसाय ठप्प भएको छ । नेपालका बजारमा महँगोमा सामान किन्नुभन्दा यहाँका ग्राहक सस्तो खोज्दै अन्यत्र जान थालेकाले व्यापारी भने ग्राहकको प्रतीक्षामा दिन काट्न बाध्य छन् ।”
अहिले देशमा देखिएको आर्थिक मन्दीका कारण बजारमा आर्थिक कारोबार घटेको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने बताउँछन् । बजारमा आर्थिक मन्दी भएपछि प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दसैंको समयमा पनि कारोबार १० प्रतिशत नबढेको उनले बताए ।