ग्राहक कुर्दै बस्नेमध्ये नेपालकै चर्चित सहर रहेको छ— भैरहवा । कुनै बेला स्वदेशी ग्राहकले गुल्जार हुने भैरहवा अहिले ग्राहक पर्खनैपर्ने अवस्थामा छ ।
दसैं नेपालको, व्यापार भारतको

त्यसै त सीमावर्ती भारतीय बजार भनेपछि हुरुक्कै हुने नेपालीहरू चाडबाडको बेलामा अझ बढी पुग्ने गर्छन् । महिलाका आवश्यक सारीलगायतका वस्त्र होस् या सौन्दर्य प्रसाधनका सामग्री, सीमावर्ती नेपाली बजारमा ब्रान्डेड, गुणस्तरीय पाइने भए पनि भारतीय बजारमै पुग्ने गर्छन् । सीमावर्ती भारतीय बजार बार्है महिना गुल्जार हुँदा नेपालका सीमावर्ती बजार भने कति बेला ग्राहक आउँछन् भनी बाटो कुर्दै बस्ने अवस्था छ ।
त्यस्तै ग्राहक कुर्दै बस्नेमध्ये नेपालकै चर्चित सहर रहेको छ— भैरहवा । कुनै बेला स्वदेशी ग्राहकले गुल्जार हुने भैरहवा अहिले ग्राहक पर्खनैपर्ने अवस्थामा छ ।
“पञ्चायतको समयमा २०४६ सालसम्म र त्यसका केही वर्षसम्म भारतीय बजारमा त्यसरी खरिदारी गर्न गएको पाइन्नथ्यो, भैरहवा बजारमा चहलपहल हुन्थ्यो, बजार गुल्जार थियो । २०४८ सालपछि भने सीमावर्ती भारतीय बजारमा खरिदारीका लागि जाने प्रचलन बढ्यो,” न्यू गौचन फेन्सी स्टोर बैंक रोडका प्रोप्राइटर ओमकार गौचनले भने । ८० वर्ष उमेर पुगेका गौचन भन्छन्, “उतिबेला भ्याइनभ्याइ हुन्थ्यो, दैनिक ६०/७० हजारसम्मको व्यापार हुन्थ्यो, अहिले ग्राहक कुर्नुपर्छ, २० हजारको व्यापार भए ‘ओहो ! राम्रो भयो’ भन्नुपर्ने अवस्था छ ।”
आफू ३७ वर्षको हुँदादेखि व्यापार सुरु गरेको बताउने गौचनका अनुसार भन्सारमा कडाइ नहुँदा र त्यहाँ बस्ने प्रहरी, सशस्त्र प्रहरीले पनि खासै ध्यान नदिँदा भैरहवाको सीमावर्ती बजार सुनौली, नौतनवातर्फ नेपाली उपभोक्ता जाने क्रम बढेको हो ।
“इन्डियाबाट सारी, धोती किनेर आउँछन्, नेपाली बजारमा धोतीको फल्स, ब्लाउज किन्छन्, यस्ता छन् हाम्रा उपभोक्ताहरू,” गौचन भन्छन्, “धेरै ठाउँमा कुरा उठायौं तर केही भएन । जबसम्म भन्सार प्रशासन साथै चेकजाँच गस्तीमा बस्नेले कडाइ गर्र्दैनन् र किनेर ल्याएका सामानहरूको भन्सार तिर्ने बानी हँुदैन तबसम्म यस्तै हुन्छ, सीमाका नेपाली बजार सुक्खा, भारतको गुल्जार ।”
गौचन त एक प्रतिनिधि पात्र हुन् । कतिपय व्यवसायीहरू पसल नचलेर बहाल तिर्न नसक्ने अवस्थामा छन्, सामान किन्ने ग्राहक होइन, उनीहरू पसल नै किन्ने ग्राहकको खोजीमा बसेका छन् ।
दसैंमात्र होइन, अन्य बेलामा पनि सीमावर्ती नेपाली बजारको व्यापार खस्कँदो रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने ‘सर्वज्ञ’ बताउँछन् । भैरहवा मात्र नभई सीमावर्ती अन्य नेपाली बजारहरू काँकडभित्ता, विराटनगर, जनकपुर, वीरगन्ज, तौलिहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी, महेन्द्रनगरको अवस्था पनि उस्तै छ, सीमावर्ती भारतीय बजार गुल्जार हुँदा वारिका सुनसान । “जबसम्म नेपाली उपभोक्रा सचेत हँुदैनन् र नेपाली बजारमै खरिदारी गरी नेपाली बजारलाई गुल्जार बनाउनुपर्छ, कर तिर्ने बानी बसाल्नुपर्छ भन्ने भावना जाग्दैन तबसम्म जति गरे पनि केही हुँदैन, धेरै प्रयास गरियो तर सफल हुन सकिएन, मानसिकता परिवर्तन गर्न सकिएन,” अध्यक्ष न्यौपानेले भने ।
“भन्सार प्रशासन अझ कडा रूपमा आउनुपर्छ भने तस्करी नियन्त्रणका लागि बसेका सुरक्षा निकाय चनाखो हुनुपर्छ, खुला सीमा नाकाका कारण थप समस्या छँदै छ,” अध्यक्ष न्यौपानेको भनाइ थियो ।
भैरहवासँग जोडिएको सीमावर्ती भारतीय बजार सुनौली नौतनवामा भैरहवा, बुटवल र वरपरका मात्र नभई पहाडी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जासमेतबाट सामान किन्न आउने गरेका छन् ।
अहिले दसैंको समयमा नेपालीहरूको लर्को लागेको छ, सुनौली बजारमा खरिदारीका लागि जानेहरूको । सार्वजनिक बस चढेर, मोटरसाइकल वा निजी कारमा सुनौली बजार जानेहरूको संख्या सयौं छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले नेपाली उपभोक्ताहरू सस्तो चिनी पाइने भन्दै पारि बजार जाने गरेको बताए । चिनी नेपाली बजारमा भन्दा १० रुपैयाँ प्रतिकिलो सस्तो भारतीय बजारमा पाइन्छ, सस्तो चिनीकै लोभमा अन्य किराना सामान खाद्यवस्तु पनि किनेर आउने गरेको पाइन्छ, ५ हजार रुपैयाँसम्मको घरायसी प्रयोजनका सामानको भन्सार गेटमै हुने यात्रु शाखामा भन्सार महसुल लिने गरेको प्रमुख भन्सार अधिकृत ढकालले बताए । ढकालका अनुसार ५ हजारसम्मका सामान ल्याउनेहरूबाट दैनिक सरदर लाख रुपैया भन्सार शुल्क जम्मा हुने गरेको छ ।
सुनौली र केही पर चार किलोमिटरको दूरीमा रहेको बजार नौतनवा हो । सीमावर्ती बजार सुनौलीमा नेपालीहरू चिनीसहित दैनिक खाद्यान्नका सामान, पेय पदार्थ, सारी, कुर्था–सुरुवाल, लेहेंगा, चुरा पोते, लिपिस्टिक, क्रिम पाउडर, मोबाइल फोन, पुरुष–महिलाका अन्डरवेयर सामान, सरफ, गेडागुडी, मसला, चियापत्ती, विद्युतीय सामान, कार, मोटरसाइकलका पार्ट्सहरू (साना सामानहरू, जुन सजिलै ल्याउन सकिन्छ र झोलामा अट्छ) लगायत सामान सस्तो पाइने भन्दै खरिदारी गर्न जाने गरेको पाइन्छ । भैरहवा अञ्चलपुरकी सरिता सापकोटाले नेपालका बजारमा धेरै नाफा लिने गर्दा महँगो हुने भएकाले भारतीय बजारमा खरिदारी गर्न जाने बढेको बताइन् ।
“कुर्था–सुरुवाल, टप्स, लेहेंगा, सारीजस्ता महिलाले प्रयोग गर्ने वस्तुहरू भारतीय बजारमा भन्दा नेपाली बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पाइयो, त्यसैले पनि महिलाहरूको आकर्षण भारतीय सीमावर्ती बजार रहन गयो । साथमा अन्य सामान ल्याउने नै भए,” सापकोटाले भनिन् ।
सुनौली बजारमा दैनिक नेपाली रुपैयाँ ५ करोड बढीको खरिदारी नेपालीहरूले गर्ने गरेको अनुमान छ । त्यहाँका पसलहरू, ग्राहकको उपस्थिति र उनीहरूले खरिद गर्ने सामानको औसत मूल्यलाई आधार मान्दा त्यति बराबरको नेपाली पैसाको खरिदारी त्यहाँ हुने गरेको छ ।
भैरहवाको गल्लामण्डीमा खाद्यान्नको थोक तथा फुटकर बिक्री गर्दै आएका पवित्रा स्टोर्सका सञ्चालनक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले सस्तोको नाममा कम गुणस्तरका सामान धेरैले ल्याउने गरेको बताए । चिनीकै कुरा गर्दा १० रुपैयाँ सस्तो भए पनि नेपालको चिनी र भारतीय चिनीको गुणस्तर हेर्न आचार्यले आग्रह गर्दै नेपाली बजारमै उपलब्ध हुने नेपाली वस्तुहरू खरिदारी गर्नुपर्ने बानी बसाल्न पर्ने बताए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले आफूहरूले पहिलेदेखि नै नेपाली बजारमै खरिदारी गर्न र नेपाली उत्पादन प्रयोगमा जोड दिँदै आएको बताए । हामीले पहिलादेखि नै विभिन्न मेला–महोत्सवलगायतका कार्यक्रममा भारतीय बजारमा पाइने सामान र नेपाली बजारमा पाइने सामानको मूल्य कति फरक भन्दै एकै ठाउँमा लेखेर बोर्डमार्फत प्रचार गर्ने गरेको बताए । “कतिपय भारतीय सामान नेपालमै सस्तो पाइने गरेको छ, त्यसतर्फ नेपाली उपभोक्ताको ध्यान छैन, केही सामान सस्तो भन्दै सीमापारि पुग्ने गर्छन् धेरै,” ज्ञवालीले भने ।
सीमावर्ती भारतीय बजारमा नेपालीहरूलाई खरिदारीका लागि जान निरुत्साहित गर्न सिद्धार्थ तथा बुटवल उद्योग वाणिज्य संघले यस पटक दसैं सस्तो बजार सञ्चालन गर्न लागेका छन् ।
“हामीले विगतमा पनि सस्तो बजार सञ्चालन गर्यौं, यो पटक पनि निरन्तरता दिँदै छौं,” बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले भने ।
“सिद्धार्थ उद्योग वाणिज्य संघले पनि यस पटक दसैं सस्तो बजार सञ्चालन गर्दै छ, केही भए पनि उपभोक्तालाई रोक्न सकियो भने राम्रै हुन्छ, स्थानीय बजारमै स्थानीय सामान खरिदारी गरौं भन्ने हाम्रो अभियान हो,” सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठले भने ।
सीमावर्ती भारतीय बजारमा खरिदारी गर्न जानेहरू, अझ त्यो पनि सीमावर्ती नेपाली क्षेत्रका बासिन्दालाई रोक्न सक्नु चुनौतीको विषय रहेको श्रेष्ठले बताए । “उपभोक्ता सचेत हुनु मुख्य कुरा हो,” उनले भने, “जबसम्म उपभोक्ता सचेत हुँदैनन् तबसम्म केही हँुदैन ।”

फोटो क्याप्सन
भारतीय बजार सुनौलीमा खरिदारी गर्र्दै नेपाली उपभोक्ता । तस्बिर : मनोरञ्जन शर्मा