Logo

महँगो दसैं

नेपालीहरुको महान चाड दसैं सुरु हुन केही दिनमाब बाँकी छ । दसैं मान्न कर्मथलो काठमाडौंबाट जन्मथलो फर्किने क्रम सुरु भइसकेको छ । सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला भइसकेको छ । बजारमा चहलपहल बाक्लिँदै छ । किनमेल सुरु हुन थालिसकेको छ । माहोल बिस्तारै दसैंमय बन्दै छ ।
बिस्तारै दसैंको उत्साह अनि उमंग छाउँदै छ । हुनेका लागि दसैं त दसैं नै बन्ला । तर आर्थिक रुपमा विपन्नहरुका लागि दसैं दशा पनि बन्ला । कैयौंलाई दसैं आउँछ । हर्ष छाउला । तर कतिपयका लागि मनमा बेचैन बन्न थालेको होला । पिर थपिन थालिसक्यो होला कसरी दसैं टार्ने भनेर । परिवारका खुसीका लागि र समाजका देखाउनका लागि पनि त कतिपयले क्षमताभन्दा माथि उठेर दसैं खर्चका लागि ऋणको जोहो गर्छन् । साहुसँग ऋण काडेर दसैं बनाउनुपर्ने कैयौं विपन्नको बेदना पनि कहालिलाग्दो नै छ । दसैंंले कैयौंको टाउको माथि ऋणको बोझ बोकाउँछ ।
अझ झनै यस पटकको चर्को महँगी । महँगीको मार उपभोक्ताले खेप्दै छन् । उपभोग्य सामानहरु दसैंमा धेरै खपत हुन्छ । तिनै उपभोग्य सामानको मूल्य बजारमा छोइनसक्नु हुँदा दसैं कसरी टार्ने भन्ने चिन्ता छ, दोलखा स्थायी घर भई भक्तपुर डेरा गरी बस्ने मनुमाया तामाङलाई । २ छोरी र श्रीमान् उनीसहित ४ जनाको परिवार । जीवन गुजारा गर्नका लागि ठेलामा मकै पोल्छिन् उनी । श्रीमान् ज्याला मजदुरी गर्छन् । बढ्दो महँगीले दसैं कसरी टार्ने चिन्ता छ । भन्छिन्, “महँगी पनि अचाक्ली भयो, दसैं आयो भन्दा पनि कसरी टार्ने होला चिन्ता छ, खासै धेरै कमाइ हुन्न, खान बस्न पनि धौ धौ छ ।”
सन्तोष क्षेत्री होटेलमा काम गर्छन् । स्थायी घर तनहुँ । तर हाल सामाखुसीमा बस्छन् । लकडाउन यता होटेल व्यवसाय राम्रोसँग चलेको छैन । साहुले नै ५० प्रतिशत मात्रै पारिश्रमिक दिएका छन् । उनी त्यसैमा चित्त बुझाएर काम गरिरहेका छन् । अन्त जागिर नपाएपछि विकल्प पनि भेटेनन् । बढ्दो महँगीसँगै उनलाई पनि गाह्रो बनाएको छ । भन्छन्, “सानो हुँदा जति दसैं रमाइलो हुुन्थ्यो अहिले त्यति नहुँदो रहेछ, घर व्यवहार आफ्नो जिम्मामा भएपछि । फेरि महँगो पनि साह्रै बढ्यो, दसैं कसरी टार्ने भन्ने पो चिन्ता छ ।”
उनीहरु त केही उदाहरणका पात्र मात्रै हुन् । यी र यस्तै समस्या झेल्दै बसिरहेका कैयौं छन्, यस समाजमा । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको देखिन्छ । गत आर्थिक वर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत मात्रै थियो । यस अवधिमा गैर खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थ उपसमूहको मूल्यवृद्धि दर दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ । तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको साउनमा भन्दा ३.२५ प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष २०७८/०७९ साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.८६ प्रतिशत थियो ।यस वर्षको साउनमा घ्यू तथा तेलमा १९.५८, फलफूलमा १८.७९, रेष्टुरेन्ट तथा होटलमा ११.८४, मदिराजन्य पेय पदार्थमा १०.२४ र दुग्ध पदार्थ तथा अण्डामा १०.१९ प्रतिशतले मूल्यवृद्धि भएको छ । गैर खाद्य र सेवा उपसमूहमा पनि गत वर्ष भन्दा दोब्बर मूल्यवृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ । २०७९ साउनमा गैर खाद्य र सेवा क्षेत्रमा मूल्यवृद्धि ९.१८ प्रतिशत छ । जुन गत आर्थिक वर्षमा ४.७४ प्रतिशत मात्रै थियो ।
यातायातमा २३.८८, स्वास्थ्यमा १०.५४, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४, शिक्षामा ८.११ घरायसी उपयोगका वस्तुहरुमा ७.८६ प्रतिशत मूल्यवृद्धि भएको छ । काठमाडौं उपत्यकामा भने मूल्यवृद्धि ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मूल्यवृद्धि भएको छ ।
गत वर्षको साउनमा काठमाडौंमा ३.७ प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मूल्यवृद्धि थियो । अन्तर्राष्ट्रिय बजारमा २०७८ साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७०.०७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७९ साउन मसान्तमा ३६.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ९५.३६ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७८ साउन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७८६.३५ रहेकोमा २०७९ साउन मसान्तमा ०.६ प्रतिशतले कमी आई अमेरिकी डलर १७७४.८५ कायम भएको छ ।
दैनिक रुपमा भान्सामा प्रयोग हुने सबै वस्तुको मूल्य हेर्दा पनि मूल्यमा वृद्धि छ । कोभिड तथा रुस–युक्रेन युद्धका कारण बजारमा सामानको अभाव देखाउँदै गत असारदेखि मूल्य वृद्धि सुरु भएको हो । आम उपभोक्ताले झेलिरहेका महँगीको समस्यामा सरकारको मौनताका कारण ठूला व्यापारिक घरानाले मौका छोपेर आफूखुसी मूल्य वृद्धि गर्दै आएको उपभोक्ता अधिकारकर्मीहरु र खुद्रा व्यवसायीहरुको आरोप छ ।
खानेतेलमा अहिले प्रति लिटर अहिले ५ देखि २० रुपैयाँसम्म सस्तो भएको छ । खुद्रा व्यापार संघले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समयमा थोक डिलरबाट चामल, दाल, गहुँ, मैदा, पिठोलगायतमा मूल्य बढेर आएको छ । जसअनुसार जिरा मसिनो चामल, स्टिम जिरा मसिनो चामल, स्टिम सोना मन्सुली चामलको २५ बोराको चामलमा १ सय २५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । प्रत्येक मसलामा पनि १० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
गत भदौमा १ हजार ८ सय पर्ने जिरा मसिनो चामलको २५ किलोको बोरालाई अहिले मूल्य वृद्धि गरि दुई हजार पुर्‍याइएको छ । यस्तै २ हजार १ सय २५ पर्ने स्टिम जिरा मसिनो चामलको बोराको मूल्य अहिले २ हजार २ सय ५० रुपैयाँ पुर्‍याइएको छ । यस्तै १ हजार ४ सय ५० रुपैयाँ पर्ने प्रतिबोराको मूल्य वृद्धि गरी १ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । अति निम्न वर्ग, निम्न वर्ग, मध्यम वर्ग र सम्पन्न परिवारले सोना मन्सुली र जिरा मसिनो चामल बढी प्रयोग गर्दै आएका छन् ।
उपभोक्ताकर्मी प्रेमलाल महर्जनले दैनिक उपभोग्य बस्तुमा अन्तराष्ट्रिय नीतिले प्रभाव नपार्ने तर रुस र युक्रेनको युद्धको बाहानामा बजारमा कालोबजारी गरेर उपभोक्ता ठग्ने काम भईरहेको बताएका छन् । “दसैं नजिकिँदै छ, उपभोग्य वस्तुको खपत बढी हुन्छ, तर कालोबजारीका कारण दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भएको हो । उपभोक्ताहरु मारमा परेका छन्,” उनले भने, “अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको छ, तर यहाँ घटेको छैन । अन्तराँष्ट्रिय बजारमा पेट्रोलको भाउ घट्दा आयल निगमले किन घटाएन ?” उपभोक्तालाई ठग्ने र अनुचित व्यापारी क्रियाकलाप गर्नेलाई कारबाही गर्न समेत उनले माग गरेका छन् । खुद्रा व्यापार संघका अनुसार भदौको तुलनामा असोजमा चामल, दाल, गहुँ, मैदा, पिठोलगायतका खाद्य पदार्थमा थोक बिक्रेताले मूल्य बढाएका छन् ।
खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले थोक बिक्रेताहरुले आफूखुसी मूल्य बढाएर बजारमा खाद्य बस्तु पठाएको जानकारी दिए । “ठूला व्यापारीको कब्जामा सरकार छ, व्यापारीका अनुसार मूल्य बढ्छ अनि उपभोक्ताहरु ठगिन्छन्,” उनले भने, “दसैं, तिहार र छठमा दैनिक उपभोग्य वस्तुको माग बढी हुन्छ, माग र आपूर्तिले बजारको मूल्य निर्धारण भएको छ । माग बढी भएपछि अझै यस्ता दैनिक उपभोग्य बस्तुको मूल्य बढ्छ ।” भारतले कर बृद्धिको नयाँ नीति र चामल निर्यात नगर्ने नीतिसँगै चामलको मूल्य ह्वात्तै बढेको उनको भनाइ छ ।
ठूला व्यापारीले कालोबजारी गरेको भन्दै बज्राचार्यले नियन्त्रणका लागि सरकारले यस बिषयमा अध्ययान र अनुुगमन बढाउन आवश्यक रहेको जानकारी गराए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले भने कालोबजारी नियन्त्रण गर्न प्रभावकारी अनुुगमन भएको दाबी गरेका छन् । “सरकारले महँगी नियन्त्रणका लागि अनुुगमन गर्न सकेन भन्ने आरोपहरु साँचो होइन,” उनले भने, “कहीँ कतै कालोबजारी भएको थाहा पाउनुभयो भने खबर गर्नुहोस् हामी तुरुन्तै कारबाही गरिहाल्छौं ।”

खाने तेल भने सस्तिँदै
पछिल्लो समयमा खाने तेलको मूल्य भने केही घटेको छ । खानेतेलको मूल्यमा कमी भएसँगै उपभोक्तालाई केही हदसम्म राहत मिलेको छ । दैनिक उपभोग्य बस्तु मध्ये खाने तेल पनि अत्यावश्यक बस्तुमा पर्छ । दसैंको समयमा नेपालीको भान्सामा खाने तेलको खपत पनि बढ्छ । महँगीको समयमा खाने तेलको मूल्य केही सस्तिँदा उपभोक्तामा पनि खुसी छाएको छ ।
गत भदौको तुलनामा असोजमा खानेतेलको मूल्य सस्तो भएको छ । भदौमा २ सय ६० सम्म पर्ने काँचो तेलको मूल्य अहिले प्रतिलिटर २ सय २० मा झरेको छ । यस्तै २ सय ६० पर्ने भटमासको तेलको मूल्य २ सय ५० सम्ममा झरेको छ । २ सय ९० पर्ने सनफ्लावर तेलको मूल्य २ सय ८० सम्ममा झरेको खुद्रा व्यापार संघले जनाएको छ । यो मूल्य विभिन्न ब्रान्डअनुसार केही तलमाथि छ । प्रत्येक ब्रान्डको तेलमा ५ देखि २० रुपैयाँसम्म मूल्य घटेको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको करिब साढे तीन महिनाको अवधिमै करको दरमा हेरफेर गरेको थियो । यसअघि बजेटले तोकेका विभिन्न करका दरहरुमा सर्वसाधारण तथा उद्योगी–व्यवसायीले विरोध जनाएका थिए । उनीहरुका माग तथा सुझावअनुसार सरकारले स्यानिटरी प्याड, एमएस बिलेट, वायर, खानेतेल र त्यसको कच्चा पदार्थ, सहकारीको आयकरलगायत विभिन्न शीर्षकको कर कटौती तथा छुटको व्यवस्था गरेसँगै मूल्य घट्न थालेको हो । सरकारले वनस्पति घिउ–तेल उद्योगहरुले औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा लाग्ने भन्सार महसुल ९० प्रतिशतले घटाएको थियो । यसअघि पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा १० प्रतिशत भन्सार लाग्ने गरेकोमा अब एक प्रतिशत मात्रै कायम गरिएको छ । सूर्यमुखीको गेडा आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यस्तै भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगका लािग भटमासको गेडा आयात गर्दा लाग्ने भन्सार महसुलमा समेत ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

स्रोत: खुद्रा व्यापार संघ

प्रतिक्रिया दिनुहोस्