Logo

‘नो हर्न’ क्षेत्रमै चर्को ‘हर्न’

काठमाडौं उपत्यकामा साउन २२ गते आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुन: अभियानकै रूपमा अगाडि बढाइएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुन: सुरु गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरेका थिए । सो कार्यक्रम लागू भएको एक महिना पूरा भएको छ, तर अभियान भने सफल भएको जस्तो लाग्दैन । किनकि सहरमा चर्को स्वरमा हर्न बजाउने कार्य रोकिएको छैन ।
उपत्यकामा हर्न निषेध गर्ने यो नै पहिलो प्रयास भने होइन । यसअगाडि पनि हर्न निषेधका कार्यक्रम सुरु भइसकेको थियो । २०७४ सालको नयाँ वर्षको पहिलो दिनदेखि राजधानीलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । यातायात व्यवस्था विभागले सो वर्षको वैशाख १ गतेदेखि लागू हुने गरी हर्न निषेध गरेको थियो । आकस्मिकबाहेकको समयमा हर्नलाई पूर्ण निषेध गरिएको भए पनि सवारी चालकहरूले विभागको निर्देशनलाई बेवास्ता गरेका थिए, जुन आजपर्यन्त पनि कायमै छ । जुन चालकवर्गले बेवास्ता गरिरहेको मानिन्छ । पहिले नै लागू गरिएको कार्यक्रम पूर्ण सफल हुन नसक्दा पुन: सो कार्यलाई अभियानकै रूपमा चलाउँदा पनि सफलता हासिल गर्न मुस्किल नै देखिन्छ ।
नीति निर्माणका तहमा बसेर नियम बनाउने तर परिपालन गर्न/गराउन सम्बन्धित निकाय तत्पर नहुने हुँदा यस्ता कार्यक्रमको शुभारम्भ पटक–पटक हुने गर्छन् भने परिणाम पनि सोचेजस्तो हासिल गर्न सक्दैनन् । निकै ठूलो तामझामका साथ कार्यक्रम गरे पनि अनुगमन भने निकै फितलो हुने गरेको छ । विगतमा उपत्यकामा लागू गरेको हर्न निषेधमा आम सवारी चालकले साथ दिएको भए साँच्चिकै हर्न निषेध पहिले भइसक्थ्योे । तर, यहाँ भन्नेबित्तिकै किन मान्ने भन्ने घमन्डले होला सहर हर्न निषेधित बन्न सकेको थिएन । फलस्वरुप पुन: सोही कार्यलाई निकै लामो समयपछि दोहोर्‍याइएको छ, तर यसपटक पनि सफलता चुम्न भने नसकिने निश्चित नै देखिन्छ ।
सरकारले लगाएको नियमलाई व्यवहारमा उतार्न भने सकिरहेको छैन । सुरुवाती केही समयमा लागू भएजस्तो देखिए तापनि पूर्ण रूपमा लागू भएको भने देखिएन । जसका कारण सो नियम सहरमा पुन: लागू गरियो । यो पटक भने अभियानलाई चासो देखाइएको थियो । सुरुवाती चरणमा ‘नो हर्न’ अभियान सफल बनाउनका लागि स्वयम्सेवकहरू पनि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका थिए । हुन त हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने हुन्छ । तर, सहरमा भने चर्को हर्न बजाउने क्रम रोकिएको छैन । मानिसमा धैर्यता भएन, हरेक मान्छे हतारमा मात्र देखिन्छ र नियमलाई बेवास्ता गर्छ । यस्तो प्रवृत्तिले के उपत्यकामा ‘नो हर्न’ अभियान सफल होला ? मुस्किल छ । असम्भव भने केही छैन तर सवारी चालकले यो अभियानलाई सफल बनाउने खोज्ने हो भने यो अभियान पक्कै सफल हुन्छ ।
–मथुरा तिवारी

प्रतिक्रिया दिनुहोस्