दक्ष जनशक्ति उत्पादन र अनौपचारिक शिक्षाको भूमिका «

दक्ष जनशक्ति उत्पादन र अनौपचारिक शिक्षाको भूमिका

अनौपचारिक शिक्षा औपचारिक शिक्षाको जननी हो । अनौपचारिक शिक्षाले संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, मानव सभ्यताको विकास र संरक्षण एवं संवद्र्धन पौराणिक कालदेखि गर्दै आएको छ । पौराणिक कालका विद्वान् ऋषिमुनि विदूषीहरू कुनै विद्यालयका उपज होइनन्, बरु अनौपचारिक प्रकृतिका धार्मिक संघसंस्थाले दिएका शिक्षाको उपज हुन् । औपचारिक शिक्षाको इतिहास अनौपचारिकजति लामो छैन । आदिकालदेखि अनौपचारिक शिक्षाबाट उत्पादित पोख्त विद्वान्हरूको उपज औपचारिक शिक्षा हो । अनौपचारिक शिक्षाको महिमा मानव जीवनलाई सशक्त र सफल बनाउन अनुपम छ । औपचारिक शिक्षाको पाठ्यव्रmम, शिक्षण संस्थाको संरचना, कक्षा सञ्चालन समय र पढ्ने उमेर आदिले ज्ञान, सीप हासिल गर्ने दायरा साँघुरो बनाएको छ । जबकि अनौपचारिक शिक्षाले आवश्यकता, चाहना र समयको मागअनुसार जुनकुनै समय र स्थानमा हासिल गर्न सकिने विशेषता राखेको हुन्छ ।
नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी, धारा ३३ मा रोजगारीको हक, ३४ मा श्रमको हकको व्यवस्था गरिएको भए तापनि समग्र मौलिक हकहरूको सुनिश्चितताका लागि शिक्षाको अहम् भूमिका हुन्छ । सविधानमा भएका प्रावधानहरू सहज कार्यान्वयनका लागि साक्षर र शिक्षित जनसमुदाय प्रमुख आधार हो । साक्षर र शिक्षित समुदायलाई संविधानमा भएका हकअधिकारलगायतका प्रावधानहरूबारे सहज प्रशिक्षण गर्न सकिन्छ । त्यस्तै दैनिक जीवनमा आइपर्ने कामहरूलाई व्यवस्थित गर्न आवश्यक सूचना र सीप आर्जन गर्न पनि कम्तीमा साक्षर हुनुको विकल्प छैन । शिक्षा जीवनपर्यन्त निरन्तर चलिरहने प्रव्रिmया हो । विज्ञान र प्रविधिमा क्षणक्षणमा चामत्कारिक आविष्कार भइराखेको छ । तीव्र गतिमा आविष्कारित नवीन ज्ञान र सीपलाई समयानुकूल आत्मसात् गर्न आफूलाई सूचना र प्रविधिबाट निरन्तर अद्यावधिक गर्नुपर्ने हुन्छ । निश्चित समयमा लिएको औपचारिक शिक्षा मात्र पर्याप्त हुँदैन; जसका लागि ज्ञान, विज्ञान र प्रविधिमा भएका पछिल्ला आविष्कारबाट सुसूचित गराउने खालका साधनस्रोत सम्पन्न र सबैका लागि सहज पहुँच पुग्ने अनौपचारिक शिक्षाअन्तर्गतको सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम हुन सक्छन् ।
सिकाइ कोव्रmोदेखि कात्रो, अझ गर्भाधारणदेखि मृत्युपर्यन्तसम्म चलिरहने प्रक्रिया हो । विभिन्न माध्यम र किसिमले जीवनोपयोगी ज्ञान र सीप हासिल गरेर समाजमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन आवश्यक ज्ञान र सीप अनौपचारिक र औपचारिक माध्यमबाट आर्जन गर्नुपर्ने हुन्छ । आजको २१ औं शताब्दीमा विज्ञान र प्रविधिको तीव्र गतिमा विकास र विस्तार भइराखेको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी समृद्धि ल्याउन औपचारिक शिक्षाका विषयवस्तु कतिपय सन्दर्भमा बासी भइसक्छन् । आफूमा भएका मौजुदा ज्ञान–सीपलाई निरन्तर अद्यावधिक गरी सफल जीवन जिउन व्यवस्थित र सर्वसुलभ अनौपचारिक शिक्षाको विकास र विस्तार गर्नुको विकल्प छैन ।
शिक्षारूपी रथको औपचारिक र अनौपचारिक दुई पांग्राहरू हुन्, एकअर्काको परिपूरक हुन् । औपचारिक शिक्षामा देखिएका कतिपय विकृति, विसंगति र क्षतिलाई निरुत्साहित र न्यूनीकरण गर्न अनौपचारिक शिक्षाको निसंंकोच योगदान रहन्छ । किनकि अनौपचारिक शिक्षाको प्रस्थान बिन्दु साक्षरता हो, जसबाट मानवले आफ्नो योग्यता, क्षमतालाई परिमार्जन परिष्कृतका साथै सशक्तीकरण गर्दै सक्षमता हासिल गर्छ । उसको आय आर्जन स्वभावैले बढ्न गई बालबालिकाले सहज पारिवारिक वातावरणमा शिक्षा हासिल गर्ने अवसर पाउँछन् । उनीहरूको विद्यालयमा उपस्थिति र उपलब्धिस्तर नि:सन्देह उच्च हुन्छ नै । तसर्थ अनौपचारिक शिक्षालाई कुनै पनि अर्थमा ओझेलमा पार्नु भनेको विकासको गतिलाई पछि धकेल्नु हो । यस्तो महŒवपूर्ण अनौपचारिक शिक्षाका कार्यव्रmमहरूलाई व्यवस्थित रूपमा समुदायसम्म पुर्‍याउन कम्तीमा एक स्थायी शैक्षिक संरचनाको खाँचो पर्छ । यस वास्तविकतालाई मध्यनजर राखेर नेपाल सरकारले पनि अनौपचारिक शिक्षा केन्द्रमार्फत सामुदायिक सिकाइ केन्द्र स्थापना गर्ने नीति लिएको छ । तसर्थ सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक विद्यालय भन्दा अन्यथा नहोला । अनौपचारिक शिक्षाको दायरा र अपरिहार्यताका आधारमा यसको गरिमा बढाउन राज्यको लगानी र ध्यान पर्याप्त नभएको वास्तविकता हो । गुणस्तरीय र प्रतिस्पर्धी जीवन जिउन अनौपचारिक शिक्षाको विकल्प छैन् ।
विद्यालय, कलेज नगएका निरक्षर वा औपचारिक शिक्षा हासिल गरिसकेका जोकोहीलाई निरन्तर ज्ञान आर्जन गर्न सहज पहुँचको सुनिश्चतता गर्नु राज्यको दायित्व हो । यही वास्तविकतालाई मध्यनजर राखेर अन्य देशहरूमा जस्तै नेपालमा पनि अनौपचारिक शिक्षा केन्द्रले औपचारिक शिक्षाबाट विमुख भएका जनसमुदायलाई समयानुकूल ज्ञान सीप प्रदान गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अनौपचारिक शिक्षा केन्द्रबाट सञ्चालित कार्यक्रममध्ये बीचैमा पढाइ छोड्ने बालबालिकाका लागि खुला तथा वैकल्पिक विद्यालय, १५ वर्षमाथिका अनौपचारिक प्रौढ विद्यालय र महिलाहरूका लागि आयआर्जनसम्बन्धी सीप सिकाउन सामुदायिक सिकाइ केन्द्र आदि पर्छन् । यीमध्ये तत्काल आयआर्जनमा सहयोग पुग्ने गरी विविध अनौपचारिक प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्ने बृहत् उद्देश्य राखेर अनौपचारिक शिक्षा केन्द्रमार्फत सामुदायिक सिकाइ केन्द्रको स्थापना गर्दै जाने नीति लिएको छ ।
सामाजिक विकृति, विसंगति तथा अन्धविश्वासलाई छिमल्दै २१ औं शताव्दीको विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा तथा तीव्र गतिमा भइराखेको परिवर्तनलाई मूल्यांकन गर्दै आत्मसात् गर्न निरन्तर शिक्षामा पहुँचको सुविधा आवश्यक पर्छ । सिक्नलाई उमेर र समयले छेक्दैन । बालकको पहिलो शिक्षक आमा र पहिलो विद्यालय घरपरिवार हो । पारिवारिक वातावरणले बालबालिकाको अध्ययन र जीवनमा दूरगामी असर पार्छ । भनिन्छ, आमा शिक्षित भए परिवारका पूरै सदस्य शिक्षित हुन्छन् तर बाबु शिक्षित भएमा ऊ आफू मात्रै शिक्षित नहोला भन्न सकिन्न ।
विद्यालयभित्र आइसकेका बालबालिकालाई टिकाइराखेर निरन्तर शिक्षा हासिल गर्न उत्प्रेरित गर्नुपर्ने औपचारिक शिक्षाको प्रमुख चुनौती भएको छ । ड्रपआउट, अनुपस्थिति, न्यून उत्तीर्ण प्रतिशत उपलब्धिस्तरजस्ता औपचारिक शिक्षाका नकारात्मक प्रवृत्तिलाई सम्बोधन गर्न सामुदायिक सिकाइ केन्द्रलाई एक सशक्त विकल्पको रूपमा लिन सकिन्छ । किनकि सामुदायक सिकाइ केन्द्रमा पुस्तकालयको व्यवस्था गरी पढ्ने कक्षाहरू सञ्चालन गर्न सकिन्छ । एकातर्फ अहिले प्राथमिक विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये ६६ प्रतिशत निम्न माध्यमिक तहमा र माध्यमिक तहको एसएलसी परीक्षामा २१ प्रतिशत मात्र विद्यार्थी पुगेको देखिन्छ । अर्कातर्फ ३२ प्रतिशत अंक ल्याएर उत्तीर्ण गर्न नसकी असफल हुनेको सङ्ख्या पनि उल्लेख्य छ । विद्यार्थीको प्राप्ताङ्क उपलब्धिस्तर ५० प्रतिशत पुग्न सकेको छैन । शतप्रतिशत पूर्णाङ्क हासिल गर्नु त आकाशको तारा खसाल्नुजस्तै छ । यस्तै प्राथमिक तहको विद्यार्थीको सरदर प्राप्ताङ्क ४५ प्रतिशत मात्र भएको शिक्षा विभागले गरेको उपलब्धि परीक्षण प्रतिवेदनले देखाएको छ । कक्षा १ मा भर्ना भएका विद्यार्थी मध्ये २१ प्रतिशत मात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सम्मिलित हुन पुग्छन् । यस प्रकार लाखौं बालबालिका माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा पनि उत्र्तीर्ण नगरी बीचैमा पढाइ छाडेको कटु यथार्थता हाम्रो सामु छ । यसरी विभिन्न कारणले औपचारिक शिक्षाबाट विमुख भएका जनशक्तिलाई निरन्तर शिक्षा तथा तालिम दिएर दक्ष जनशक्ति बनाउन अनौपचारिक शिक्षाअन्तर्गतका विभिन्न कार्यक्रमहरू सशक्त विकल्प हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्