उडान अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती

पूर्वी हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार बिमानस्थलबाट हुने उडानहरू अवरुद्ध हुँदा सयौं यात्रुहरू मारमा परेका छन् । समुद्री सतहबाट ४ सय ५७ मिटरमात्र उचाइमा रहेको विश्वकै होचो अरुण उपत्यकामा गत आइतबारबाट भारी तुँवालो लागेपछि तुम्लिङटारबाट हुँदै आएको दैनिक उडानहरू अवरुद्ध भएका छन् । अहिले दैनिक रूपमा बुद्ध, सीता र यती एयरलाइन्सले काठमाडौं– तुम्लिङटार र तुम्लिङटार–काठमाडौं उडान भर्दै आएका छन् ।
लामो समय उडान अवरुद्ध हुँदा संखुवासभा र भोजपुर जिल्लाका जहाजबाट काठमाडौं तथा विराटनगर जाने यात्रुहरू अलपत्र परेका छन् । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । ‘भिजिबिलिटी’ कम भएपछि दैनिक उडानहरू रद्द हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ । सडक मार्ग असुरक्षित हुने भन्दै हवाई उडानको लागि हप्तौंअघि टिकट बुकिङ गरेर बसेका यात्रुहरू अहिले हवाई टिकट रद्द गरेर धुलाम्य बाटोको यात्रा तय गर्दै कच्ची सडक भएर धरान, विराटनगर, काठमाडौं लगायतका गन्तव्यमा पुगिरहेका छन् । हवाईजहाजको सुविधा नभएपछि बढीजसो बिरामी र उनका आफन्तहरू त्यसको मारमा परेको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख डा. बिनितकुमार झाँले बताएका छन् । धुले सडकमा लामो यात्रा गर्नुपर्ने बाध्यता भएकाले बिरामीको स्वास्थ्य अवस्था झन बिग्रिने डा. झाँको भनाइ छ ।
विमान स्थललाई ढाकेको तुँवालो हटेपछि मात्र उडान भर्न सकिने तुम्लिङटार विमान स्थलका प्रमुख रमेश महतले बताए । मौसममा कुनै सुधार नआएकाले अहिले टिकट क्यान्सिल गरेर सडक मार्ग हुँदै सयौंका संख्यामा यात्रुहरू आफ्ना गन्तव्यतर्फ लागेका छन् । उडान अवरुद्ध हुँदा वृद्ध–वृद्धा, बालबालिका, बिरामी र समयमा फर्कनुपर्ने पर्यटकहरूले बढि सास्ती खेप्नुपरिरहेको महतले बताए । तुँवालो हट्नको लागि कि त पानी पर्नु पर्ने कि त ठूलो हावा चल्नुपर्ने उहाँको भनाइ छ ।
तुम्लिङटार विमानस्थल भएर बिश्वको पाँचौं अग्लो हिमशिखर मकालु हिमाललगायतका अन्य हिमाल चड्न आउने आन्तरिक तथा बाह्य पर्यटक, भोजपुर र संखुवासभाका नागरिकहरू आवत–जावत गर्ने गर्छन् । यहाँबाट बुद्ध, यति र सीता एयरले दैनिक एक–एक उडान भर्दै आएको छ । बुद्ध एयरले आइतबार र बुधबार दुई दिन विराटनगर पनि उडान गर्ने गरेको छ ।
कृष्णराज शाक्य