१३ देशका १ हजार ४ सय २५ जना खेलाडी पोखरामा
आजदेखि तेक्वान्दो प्रतियोगिता पोखरामा सुरु

पर्यटकीय नगरी पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडीहरू आएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मासहभागि हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा आएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।
आज (बिहीबार)देखि पोखरामा सुरु हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको उनले बताए । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने उक्त प्रतियोगिता नेपाली खेलकुदको इतिहासमा एउटै खेलका लागि ठूलो संख्याको सहभागिता पहिलो भएको अध्यक्ष गुरुङको दाबी छ । यसका साथै अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षकहरू, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागिता अपेक्षा गरेको उनले विश्वास लिए । यसका साथै आयोजक, स्वयंसेवक र प्राविधिकका रूपमा करिब ३ सय जना सहभागी हुने भएका छन्।
प्रतियोगिता विश्व तेक्वान्दो महासंघको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा.चोउ चुङ ओन पोखरा आउने कार्यक्रम रहेको छ । यस संगै एसियन तेक्वान्दो फेडेरेशनका अध्यक्ष प्रोफेसर लि क्यू सिओकलगायतको विशिष्ट टोली पोखरा आउने तय भइसकेको छ । बिहिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय रंगशालामा मध्यान्ह १२:३० बजे गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननिय कृष्णचन्द्र नेपाली पोखरेलले उद््घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद् गण्डकी, माछापुच्छ«े बैंक लिमिटेड, हिमालयन एभरेष्ट इन्सोेरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसियसन, कर्माचार्य फुड्स एन्ड बेकर्स प्राली, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, बुद्ध एयर, नेपाल खेलकुद पत्रकारमञ्च गण्डकी, हिमालयन अफिस अटोमेसन, भायनेट, नेपाल भूतपूर्व खेलाडी मञ्चलगायतको सहयोग रहेको संघले जनाएको छ । प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्षदेखि ६० वर्षभन्दा माथि) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समूहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समुहमा प्रतिस्पर्धा हुने भएको छ ।
नेपालको गौरव अभिवृद्धि सँगै खेलकुदमार्फत गण्डकी प्रदेशलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न तथा कोभिड १९ का कारण प्रभावित नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ कोसेढुंगा सावित हुने आफूहरूले विश्वास लिएको अध्यक्ष गुरुङले बताए । दक्षिण एसियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको उनले बताए ।
विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्वीकृति प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख रुपैयाँ खर्च हुने संघ गण्डकीका सचिव रमेश पौडेलले जनाए ।