इण्डोनेशियामा ट्रेड एक्स्पो हुने

आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाबीच भइरहेको व्यावसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताए ।
उनले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गरे । सो अवसरमा उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताए । उनले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताए । “ब्याज बढाएको चिज स्वभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरुले बढाएको छ” उनले भने, “ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।”
उनले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उनको भनाइ छ ।