Logo

सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंकहरु सहमत

यहाँका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय लाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।
जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलपछि प्रदेशस्तरका प्रमुखको छलफल गरी जिल्लामा पालिका प्रमुखसँगको अन्तरक्रियासमेत गरिएको छ । निजी तथा सरकारीस्तरको बैंकले जाजरकोटका सबै पालिकामा सहुलियत कर्जा लागू गर्नका लागि वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी नीतिगत छलफलसमेत सम्पन्न भएको छ ।
जिल्लामा कृषि सहुलियत कर्जा कार्यक्रम लागू गर्ने विषयमा स्थानीय तहका प्रमुखले तत्काल कार्यान्वयन गरेर जानुपर्ने धारणा राख्दै आएका छन् । व्यावसाय गर्ने उद्देश्यले आफू धेरैपटक कर्जाका लागि बैंक गए पनि आफूहरूले ऋण नपाएको भन्दै छलफलमा सहभागीले बैंकको आलोचनासमेत गरेका थिए । दुर्गममा बैंकले लगानी गर्ने कुरामा आनाकानी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेशप्रसाद सिंहले पालिकाले जोखिम न्यूनीकरण कोषसमेत स्थापना बताए ।
आर्थिक अभावका कारण व्यवसाय गर्न नपाएका युवा भारत तथा अन्य मुलुकमा जानुपरेको पीडा सुनाउँदै उनले कृषिमा आत्मनिर्भर बन्न जुट्नुपर्ने बताए । पालिकास्तरमा रहेका बैंकमार्फत सहुलियत कृषि कर्जा लिएर धमाधम कृषि उद्यम सुरु गर्ने बाटो खुलेको भन्दै नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बैंकलाई परेको अप्ठ्यारा हल गरिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्