बाँकेमा सुविधायुक्त बाल सुधार गृह «

बाँकेमा सुविधायुक्त बाल सुधार गृह

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहको भवन उद्घाटन गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार दुई तले उक्त भवनको उद्घाटन गरेकी हुन ।
महिला बालबालिका तथा जेष्ठ नागरिक विभागका अनुसार विभागको कुल दुई करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुधारगृह भवनमा १० वटा कोठा रहेका छन् । जसमध्ये पहिलो तलामा अध्ययन गर्नेे कोठा, पुस्तकालय, परामर्स कक्ष, प्राथमिक स्वास्थ्य कक्ष रहेका छन भने दोस्रो तलामा ध्यान तथा योगा गर्ने हल रहेको छ । भवनको भुइँतलामा भान्सा, खाना खाने हल र सुरक्षाकर्मी कक्ष र गार्ड हाउस रहेको छ ।
साँघुुरो भवन हुँदा ७५ जना क्षमता रहेको सुधारगृहमा हाल २११ जना कष्टकर तरिकाले बस्न बाध्य छन् । नवनिर्मित भवनले सुधारगृहमा बस्ने बालकलाई राहत हुने बताउँदै भवन उद्घाटनपछि मन्त्री रेग्मीले बालवालिकाहरु बाध्यताले परिबन्धमा परेर सुधारगृहमा आउनु परेकोले यस्ता वालवालिकाको भविष्य अध्यारो गर्न नहुने धारणा राखिन् ।
कार्यक्रममा बालसुधार गृह संचालनका लागि ४ विगाह २ कठ्ठा जग्गा दान दिने नेपालगन्ज ९ निवासी जयकेश सिंह तथा श्रीमती ईन्दु सिंहलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सिंह परिवारले २०६७ साल भदौ ६ गते उक्त जग्गा र सो मा रहेका ३५ सय विरुवा बालसुधार गृह संचालनका लागि नि:शुल्क रुपमा दान दिएका थिए । कार्यक्रममा सम्झौता अवधी भन्दा ५ महिना अगाडी भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनी यादव कन्ट्रक्सनलाई समेत सम्मान गरिएको थियो । २०७८ असार ३० गते भवनको कार्यादेश पाएको निर्माण कम्पनीले २०७९ श्रावण ३१ गते निर्माण सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्