अख्तियारमा १६ हजारभन्दा बढी भ्रष्टाचारका उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । अख्तियारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ उजुरी परेको जनाएका हुन् ।
अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३३१ वटा भ्रष्टाचारसम्बन्धी उजुरी रहेको प्रतिवेदनमा उलेख छ । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टंगालमा १२ हजार ३०० र मातहतका कार्यालयहरुमा १२ हजार ३१ उजुरी रहेका छन् ।
गत आव २०७८/०७९ मा दर्ता उजुरीमध्ये सबैभन्दा बढी २७.७ प्रतिशत अर्थात् ४ हजार ४९५ लिखित निवेदन, हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७६०, इमेलबाट २ हजार ७५७ अर्थात् १७ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वेबसाइट, टेलिफोन, समाचारपत्र, मोबाइल एप, फेसबुकलगायत स्रोतबाट उजुरी आएको आयोगले जनाएको छ ।