निजगढ विमानस्थल सरकारी लगानीमा बनाउने दाबी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन् । महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिकहरूबाट नै बनाउने बताएका हुन् ।
उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए । महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैंले बनाउने जिकिर गरे । उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए । उनले विमानस्थल बनाउने लागतका हिसाबले रुख कटानदेखि अन्य निर्माणका लागि सात वर्षको समयमा १ खर्ब २० अर्बमा वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने तर्क गरे ।
महानिर्देशक अधिकारीले वार्षिक १७ अर्बमा १० अर्ब नेपाल सरकारले र ७ अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने दाब िगरे । उनले नेपालले विमानस्थल बनाउन सक्दैन भन्ने सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउनु आवश्यक रहेकोमा जोड दिए । उनले प्रस्तावित विमानस्थलको योजना नेपाल सरकार आफैंले गर्ने प्रतिबद्धता हुनुपर्ने बताए ।
महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौं रुपैयाँ खर्च भएको दाबी गरे । प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि बृहत् छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको जानकारी पनि दिए । अधिकारीले अब एसिया प्यासिफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको बताए । उनले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयका लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताए ।
महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने बताए । वार्षिक १० लाख हवाई यात्रु थपिँदै गएकाले १० वर्षमा पाँच करोड पुग्ने र नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुका लागि पनि नभएको उनले उल्लेख गरे । हवाई यात्रु बढ्दै गएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छैन भन्नु नै निरर्थक भएको अधिकारीको भनाइ छ ।