सडक स्तरोन्नती भए ठूला जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने

पर्यटकीय तथा जलविद्युत् आयोजनासँग जोडिएका मुख्य तीनवटा सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।
भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको निर्माण कार्य जारी रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ ।
कम्पनी सिंह एन्ड ब्रोदर्सका विश्वास उप्रेतीका अनुसार ब्रोदर्सले लिएको ठेक्का मध्य जाजरकोट कुदुदेखि स्याउली बजारसम्माको १७ किलोमिटरमा पिचको काम सम्पन्न भइसकेको छ । त्यस्तै स्याउली देखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ । कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटरमा काम सुचारु रहेको छ ।
थलहदेखि दैलेखकको सिमानासम्ममा २९ किलोमिटर सडकको पिचको सम्पन्न भएको छ । यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ ।
भेरी करिडोर भित्र रहेको जाजरकोट डोल्पा सडक खण्डको ११८ किलोमिटर मध्य एती बिल्ड्रस प्रालि सातदोबाटो ललितपुरले पासागाड रिम्ना ( १७ किलोमिटर) तीन वर्ष पहिलेदेखि पिचको काम गरिरहेका छ । रिम्ना – तल्लु सम्माको ४० किलोमिटर सडक ३६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै भदौबाट स्तरोन्तिको काम सुरु भएको छ । १ अर्बको ठेक्कामा उक्त काम श्रेष्ठ कन्टक्सनले लिएकोमा श्रेष्ठबाट यती बिल्ड्रस प्रालि ललितपुर सातदोबाटोले नै काम गर्ने जिम्मेवारी लिएको गोरखबहादुर केसीले जानकारी दिए ।
यो सडकसमेत यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दावी छ । भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिब्रिज पुलहरू निर्माण कार्य पूरा भएर सवारी साधनहरू आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश वस्यालले जानकारी दिए ।
डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ । त्यस्तै जाजरकोट र रुकुम पश्चिमकाबीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिए लगत्तै सुरु हुने उनले जानकारी दिए । जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै लुम्बिनी–रारा सडक खण्डको कामसमेत जारी छ ।
भेरी करिडोरको स्तरोन्नतिसँगै यस क्षेत्रमा रहेका जलविद्युत् आयोजना निर्माणमा समेत सहयोग पुग्ने छ । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत् आयोजना ८२.३ मेगावाट (ए) यही सडक खण्डको बीचमा पर्दछन् । भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका–७ स्थित दल्लीमा नलगाड जलविद्युत आयोजनाको विद्युत गृह निर्माण हुनेछ ।
त्यस्तै ताक्सुगाड जलविद्युत् आयोजना (७ मेगावाट) समेत भेरी करिडोर भित्र नै पर्छ । जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिबेणीबाट मुड्केचुला–४ इल (जगदुल्ला जलविद्युत आयोजनाको विद्युत् उत्पादन गृहस्थल) र ड्याम स्थल रहेको जगदुल्ला गाउँपालिका–१ हुरीकोटसम्मा सडक त्रिबेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ ।
जगदुल्ला जलविद्युत् आयोजना यही आर्थिक वर्षभित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइडो«पावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए । त्रिवेणीबाट हुरीकोट सम्मको ४५ किलोमिटर सडक रहेको छ । १५ किलोमिटर आइइ बाँकी रहेका कारण सडक निर्माण रोकिएको छ । यो सडकमा कडा चट्टान भएका कारण विस्फोट गरेर मात्र चट्टान फोर्न सकिन्छ । ४५ किलोमिटर मध्य ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ ।
१५ किलोमिटर सडक निर्माण गर्नका लागि आइइ बाँकी भएकाले काम गर्न समस्या भएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजिकरण गर्नुपर्ने दायित्व रहेको छ । त्रिबेणी स्थित भेरी नदीको पुल निर्माण कार्य समेत ढिला हुँदा समस्या भएको छ । अब वर्षायाम सकिन बित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिए । यहाँ अन्य साना पुलहरू ७ वटा निर्माण गर्न बाँकी रहेको छ । यी सबै पुलहरू कम्पनीले नै निर्माण गर्ने छ ।