Logo

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ ।
जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले २०७५ सालदेखि आयातमा लगाइएको प्रतिबन्द फुकुवा गरेर किसानलाई पलायन गर्ने षडयन्त्र गर्न खोजिएको आरोप लगाए । “दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरौँ, बजारीकरण सुनिश्चित गरौँ” उनले भने, “हामी स्वदेशलाई आवश्यक दूध उत्पादन गर्न तयार छौँ ।” अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेमा दुग्ध विकास संस्थान (डीडीसी) ले भारतको पटनाको डेरीहरुबाट दूध ल्याउने चिन्ता किसानमा परेको छ । संघका सचिव किशोर बगालले दूध ल्याउने बहानामा डिडिसीले कमिसन खाने स्वार्थ लिएको आरोप लगाए ।
“स्वदेशी किसानले बेचेको दूधको भुक्तानी पाउन सकेका छैनन्”, उनले भने, “भारतबाट सस्तोमा पायौँ, सस्तोमा दिए लिन्छौँ, अन्यथा किन्दैनौँ भनेर बार्गेनिङ गरेर किसानलाई निराश पार्ने खेल हुँदैछ ।” उनले दुग्ध पदार्थको आयात रोके पनि खुला सीमाका कारण अवैध आयात भइरहेका बेला सरकारले नै आयात गराउन खोज्नु गलत भएको बताए । “दुग्ध उत्पादन कम छ, पुगेन भनेर उपभोक्ताले अन्दोलन गरेका छैनन्”, उनले भने, “दूध अभाव भयो भनेर आयात खुलाइदैछ, किसानलाई ऋणमा डुवाउने काम हुँदैछ ।”
उत्पादन लागतका आधारमा किसानले मूल्य पाउन नसकिरहेका बेला उद्योगहरुलाई भारतबाट दूध आयात गर्न दिँदा किसानहरु मिल्क होलिडेको मारमा पर्ने जोखिम पर्ने बताए । चितवनलाई २०७६ जेठमा दूधमा आत्मनिर्भर घोषणा गरिएको थियो । त्यो बेला चितवनमा वार्षिक १ लाख ५ हजार ६ सय मेट्रिक टन दूध उत्पादन भएको अनुमान गरिएको थियो । सचिव बगालले अहिले चितवनमा ३ लाख ५० हजार लिटर दूध दैनिक उत्पादन हुँदै आएको बताए ।
“उत्पादन बढिरहेको छ, किसानहरु पशुपालनमा उत्साहित छन्”, उनले भने, “फेरि भारतबाट दूध आयात गरेर स्वदेशी दूध बिक्रीनै नहुने अवस्था ल्याउन खोज्नु किसानमाथिको अन्याय हो ।” विदेशबाट दूध आयात गर्ने सरकारको तयारी नरोकिए कडा संघर्षमा उत्रने चेतावनी दुग्ध उत्पादक सहकारीले दिएको छ । उत्पादित दूध चितवनबाट काठ्माण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीमा करिब ४५ प्रतिशत बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्