सोपान फर्मास्युटिकल्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल «

सोपान फर्मास्युटिकल्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमलप्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिषराज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सेयर निष्काशन यसै वर्षभित्रमा सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको बताए ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा अवस्थित सोपान फर्मास्युटिकल्स लिमिटडले आइएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आव. २०७८०७९ देखि विभिन्न औषधिहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्