आइएमई र यूएनसिडिएफबीच अनुसन्धान समझदारी

आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड(यूएनसिडिएफ)बीच अनुसन्धान समझदारी भएको छ ।
समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै संस्थाबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषत: महिला रेमिटेन्स प्राप्तकर्ताका समस्या र ती समस्याको न्यूनीकरणमा बढ्ता केन्द्रीत हुनेछ ।
डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत यो समझदारी उपयोगी हुने बताइएको छ । महिलाको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ । यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास लिएको दुवै संस्थाले जनाएका छन् ।
समझदारीपछि आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईका शुरुवाती दिनको स्मरण गर्दै रेमिटेन्स सेवा उद्यमको रूपमा विकसित भइ नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको उल्लेख गरे ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरू निर्माण गरिरहेको जानकारी दिँदै युएनसीडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारलाई रेमिटेन्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आएका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषत: रेमिटेन्स प्राप्तकर्ताका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यस पटकको समझदारीमा उल्लेख गरिएको छ ।