१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न «

१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै मन्त्रालयले १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको बताएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले करिव २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दूतावास र विभिन्न दातृ निकायहरुबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको स्पष्ट पारे । उनले बाँकी विद्यालयहरुको पूर्वाधार निर्माण ३ वर्षभित्रमा गरिसक्ने लक्ष्य लिइएको बताए । मन्त्री पौडेलले बाँकी रहेका विद्यालयहरुमा के–के पूर्वाधारहरुको आवश्यक रहेको छ भन्नका लागि नक्शांकन शुरु गरिएको बताए ।
उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरुको मस्यौदा तयार भइ सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि बताए । त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन लगायतका अन्य नीतिगत तथा कानूनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शिक्षक बढुवा र खुला पदपूर्तिको विज्ञापन गरी परीक्षा सञ्चालन भएको तथा बढुवाको नतिजा प्रकाशन भइ सिफारिस समेत भइसकेको जनाएको छ । त्यसैगरी पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको बताएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ ।

बक्स
कर्मचारी समायोजन चित्तबुझ्दो नभएको स्वास्थ्यमन्त्रीको गुनासो
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री खापुङले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीहरुको परिचालन र उनीहरुलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताए । उनले देश संघीयताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा अधिकांश कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको बताए ।
मन्त्री खापुङले संघीयतालाई सहज बाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताए । उनले तीनै तहको सरकार आफ्नो आफ्नो ठाउँमा जिम्मेवार र अधिकारसम्पन्न भएकोले संघीयतालाई व्यवस्थित गर्न लाग्नुपर्ने बताए । मन्त्री खापुङले हरेक तह र तप्कामा रहेर काम गर्ने मानिसहरु आफ्नो कार्य क्षेत्रमा विज्ञ हुने उल्लेख गरे ।
क्याप्सन
२०७२ सालको भूकम्पपछि पुनर्निर्माण भएको मकवानपुरको एक विद्यालय ।

प्रतिक्रिया दिनुहोस्