Logo

महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्री) सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । हटलाइन सेवा चौवीसै घण्टा खुला रहनेछ ।
“महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्नुहुनेछ,” मेयर कोइरालाले भने, “आएका गुनासा र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ ।”
महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनका अनुसार केही साता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो ।
असोज १ गतेदेखि भने औपचारिक रूपमा हटलाइन सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर मेयर र उपमेयरसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ । त्यस्तै नगलबकय२दष्चबतलबनचmगल।नयख।लउ मा इमेल गरेर आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्