मेलम्चीको दोस्रो चरणको काम सुरु

मेलम्चीको पानी नै अझै अनिश्चित भएको बेला याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौं ल्याउन ठूला पाइप बिछ्याउन सुरु भएको छ ।
सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमि दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय एमएमका ठूला पाइप बिछ्याउन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
मेलम्चीपछि दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएका कारण पानी वितरणका लागि उपत्यकामा ठूला पाइप बिछ्याउन थालिएको भन्दै निर्देशनालयले पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म २०६९ सालमा १ हजार ४ सय मिलिमिटरको पाइप बिछ्याइएको स्मरण गरेको छ ।
पहिलो चरणमा दैनिक २२ करोड लिटर पानी पठाउन सकिने तथा दोस्रो चरणमा १ हजार ६ सय र १ हजार ८ सय मिलिमिटरका पाइप बिछ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयले जनायो ।
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमि नयाँपाटीसम्म १ हजार ८ सय मिलिमिटरको पाइप बिछ्याइने तथा साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म करिब आठ किमिमा १ हजार ६ सय मिलिमिटरको पाइप बिछ्याइने निर्देशनालयको भनाइ छ । याङ्ग्री र लार्केको पानी आउनुअघि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएका कारण दोस्रो चरणमा ठूलो आकारको पाइप बिछ्याइएको हो ।
वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने निर्देशनालयको भनाइ छ । याङ्ग्री र लार्केको पानी उपत्यकामा ल्याउन हवास उई कंकाई कम्पनी जेभीले पाइप बिछ्याउने कामको ठेक्का पाएको छ । उक्त सम्झौता सन् २०२१ अप्रिलदेखि सुरु भएको तथा दुई वर्षमा सकिने जनाइएको छ । दोस्रो चरणको पाइप हाल्न २ अर्ब ८८ करोडको बजेट छुट्ट्याइएको छ ।