रेमिट्यान्सको टेकोमा अडिएको दसैँ अर्थतन्त्र «

रेमिट्यान्सको टेकोमा अडिएको दसैँ अर्थतन्त्र

मुलक कृषिप्रधान भनिए पनि अर्थतन्त्र भने रेमिट्यान्समा आधारित छ भन्नलाई धक मान्नुपर्ने कारणै छैन । मुलुकको आन्दानीको मुख्य धमनी नै रेमिट्यान्स हो । किनभने विदेशी मुद्रा कमाउने सन्दर्भमा न हाम्रो वैदेशिक लगानी छ, न निर्यातले गति लिएको । अलिअलि आर्जन गर्ने पर्यटन पनि कोभिडदेखि तङ्ग्रिन सकेको छैन । विदेशी मुद्रामा चाप पर्ने तर आयात भने नघट्ने हुँदा चौतर्फी दबाब सिर्जना भएको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणको गर्जो टार्नेदेखि बैंकहरूमा तरलता बढाउन किन नहोस् रेमिट्यान्सैको भरथेग छ । झन् हाम्रा मुख्य चाडपर्वहरूमा विदेशबाट धेरैभन्दा रकम भित्रिने गर्छ । हामी भन्नलाई कृषिमा निर्भर भन्छौँ व्यवहारमा परनिर्भर छौँ । दसैँ हाम्रो सन्निकट छ । दसैँमा खाने मासुमा हाल्ने बेसार, अदुवादेखि खाइसकेपछि दाँत कोट्याउने सिन्कासमेत हामी आयात गरिरहेका छौं । भकारीबाट धान झिकेर चामल र चिउरा कुट्ने, सेतो र रातो माटोले घर लिपपोत गरी सिँगारिने दसैँ अहिले छैन । केही दशकयता दसैँ आसपास बढ्ने अधिक चहलपहलले धार्मिक तथा सांस्कृतिक पर्व दसैँ आर्थिक पर्वमा रूपान्तरण भएको छ । परिणामस्वरूप दसैँ नेपालको आर्थिक गतिविधि हुने उच्चतम समय बनेको छ ।
अहिलेको दसैँ मरमसला, कपडा, खिस्रीमिस्रीमा मात्रै अडेको छैन । अहिले दसैँको अर्थतन्त्र फराकिलो छ । दसैँ किनमेलको अवसर बनिरहेको छ । लत्ताकपडा, मदिरादेखि गरगहना, गाडीदेखि टिभी, फ्रिज र वासिङ मेसिनजस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र थरीथरीका मरमसाला, माछामासु र फलफूलको किनबेच यही बेला बढी खपत हुन्छ । अर्थतन्त्रका लागि एक ठाउँबाट अर्को ठाउँमा चलायमान बनाइदिएको छ । दसैँलक्षित किनमेलको आकार यति ठूलो छ कि नेपालीको कुल उपभोगमध्ये करिब २० प्रतिशत यही समयमा हुन्छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार नेपालको कुल खुद्रा व्यापारमध्ये दसैँ र तिहारमा मात्रै ३५ प्रतिशतको हाराहारीमा हुने गर्छ । अन्य समयको भन्दा दसैँको बेला आर्थिक चलायमान धेरै बढी नै हुन्छ । सडक व्यापारीदेखि मलहरूमा किनमेलको भीड थामिनसक्नु हुन्छ । विदेशबाट पठाइएको रेमिट्यान्सबाट आय आर्जनको दायरा फराकिलो बनेसँगै विलासिताका सामान खरिद र सोख बढेका छन् । मीठो खान, राम्रो लाउने र पारिवारिक मिलनसँगसँगै अहिलेको दसैँ उपभोगको चाडमा बदलिएको छ ।
जागिरेले थप एक महिनाको तलब–भत्ता पाउने, रेमिट्यान्स कारण नगद प्रवाह बढ्ने र घर परिवारमा नयाँ सरसामग्री जोड्न यही चाडबाड पर्खने प्रवृत्ति दसैँमा कारोबार बढ्छ । सरकारी कर्मचारी र पेन्सनधारी, निजी क्षेत्रमा कार्यरत कर्मचारीले दसैँमा पाउने बोनसको ठूलो हिस्सा उपभोगमा खर्च हुन्छ । दसैँतिहार यातायातमा धेरै खर्च हुने समय पनि हो । उपभोगमा हुने खर्चले पनि अर्थतन्त्रलाई चलायमान बनाउँछ, तर आयातमा निर्भर अर्थतन्त्र भएकाले यसको लाभ भने विदेशमा पुग्छ । आन्तरिक उत्पादन नभई आयातमा आधारित उपभोग भएकाले समग्रमा चाडपर्वले अर्थतन्त्रलाई घाटा धेरै छ । त्यसैले उपभोगमा धेरै खर्च र बचत दर न्यून भएपछि आयातमा आधारित उपभोग भएको देशमा पर्ने असर भयावह हुन्छ नै, जुन समस्या वर्षौंंदेखि नेपालले भोगिरहेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गएको आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निजी क्षेत्रको उपभोग अनुपात सबैभन्दा बढी ८०.८ प्रतिशत छ । सरकारी क्षेत्रले गरेको उपभोग अनुपात जीडीपीको ८.२ प्रतिशत र गैरनाफामूलक संस्थाको १.७ प्रतिशत रहेको देखाएको छ । अघिल्लो आर्थिक वर्षमा जीडीपीमा निजी क्षेत्रको उपभोग अनुपात ८२.२, सरकारीको ८.४ र गैरनाफामूलक संस्थाको १.७ प्रतिशत थियो । विगत १० वर्षको जीडीपीमा निजी क्षेत्रको उपभोग अनुपात औसत ८०.७, सरकारीको ८.३ र गैरनाफामूलक संस्थाको १.६ प्रतिशत छ । ‘कुल उपभोगमा सरकारी र निजी क्षेत्रको उपभोगको अंश क्रमश: ९.०८ र ८९.०२ प्रतिशत र गैरनाफामूलक संस्थाको हिस्सा १.८९ प्रतिशत छ,’ सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्षमा कुल उपभोगमा सरकारी क्षेत्रको उपभोगको हिस्सा ९.१०, निजी क्षेत्रको ८९.०३ र गैरनाफामूलक संस्थाको १.८७ प्रतिशत थियो ।’ चालू आर्थिक वर्षमा निजी क्षेत्रले गर्ने कुल उपभोग खर्चमा सबैभन्दा बढी ४९.१ प्रतिशत खाद्य वस्तुमा भएको देखिन्छ । यस्तै, ३२.४ प्रतिशत सेवा र बाँकी १८.६ प्रतिशत गैरखाद्य वस्तुमा रहेको सर्वेक्षणले देखाएको छ ।
दसैँमा भित्रिने रेमिट्यान्सले नेपालीको उपभोगमा ह्वात्तै बढावा गराउँछ । भर्खरै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउन मसान्तसम्म ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आय २०.३० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । गत वर्षको साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको थियो । चाडबाड भएकाले भदौ र असोजमा यो रकम अझै बढ्ने अनुमान गर्न सकिन्छ । आयातमा भने गत आवको साउनको तुलनामा चालू आवको सोही अवधिमा करिब १९ प्रतिशतले घटेको छ । निर्यात पनि करिब २९ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा १४ अर्ब ८१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो गत वर्षको साउन महिनाको तुलनामा २८.७ प्रतिशतले कमी हो । गन्तव्यका आधारमा भारतमा ३६.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फ २४.४ प्रतिशतले निर्यातमा कमी आएको छ । त्यसैगरी अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
माथिकै तथ्यांकबाटै थाहा हुन्छ, हाम्रो अर्थतन्त्रको रक्तनली विदेशमा रहेका नेपालीहरूसँग कति जोडिएको छ भनेर । दसैँको शुभारम्भ हुनुभन्दा निकै दिनअघिदेखि नै साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र सपिङ मलहरू छुट, आकर्षक उपहारलगायतका सुविधा एवं सहुलियतहरूसहितका विज्ञापनले झकिझकाउ हुन थालेका छन् । विभिन्न ‘अफर’ हरूले सस्तो पर्ने हुँदा जुत्ता चप्पलदेखि परिधान र विद्युतीय सामग्रीदेखि सवारी साधन किन्ने अवसर दसैँ नै हो । सहरिया मध्यम र उच्च वर्गको आवश्यकता बनिसकेका मोटरसाइकल तथा निजी गाडी, मोबाइल, ल्यापटप ‘दसैँ विशेष छुट अफर’ का कारण यही बेला बढी बिक्री हुन्छन् । दसैँमा सवारी साधन र लत्ताकपडाको कारोबार वार्षिक कारोबारको झन्डै ४० प्रतिशत जति हुने व्यवसायीहरूको आकलन छ । मदिरा उत्पादक–व्यवसायीका लागि त दसैँ उत्सव नै हो । देशभर मदिराको वर्षभरी हुने कारोबारको एक चौथाइ हिस्सा त दसैँमै हुने अनुमान छ । दसैँमा बढेको अत्यधिक चहलपहलले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न धेरै सहयोग नै पुग्छ । मुर्झाएको अर्थतन्त्रमा दसैँ बहार बनिदिन्छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर रमाइलो गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने दसैँमा मानिसले धक फुकाएर खर्च गर्छन् । फलस्वरूप यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ ।
दसैँको व्यापारले वर्षभरको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/रेस्टुराँले दसैँलक्षित प्याकेज बेच्न थालेका छन् । फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विभिन्न योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोज्दै सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैँ केन्द्रित किनमेलको चाप बढ्दो छ । त्यसैले दसैँतिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । साविकमा जस्तै यस वर्ष पनि दसैँका निमित्त केन्द्रमा सुपथ मूल्यका बजार खुलिसकेका छन् । तर भड्किलो उपभोगको नाममा दसैँ पहिले पहिले भन्ने गरिएका उखानजस्तै ‘आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई’ पनि नबनाउँ । दसैँ व्यापारीहरूबाट पनि लुट्ने र लुटिने अवसर नहोस् । मीठो खाने र नयाँ लुगा लगाउने प्रचलनमा दसैँपछि नमीठो अनुभव र पुरानै ऋणमा नयाँ ऋण नथपियोस् ।
राजधानी काठमाडौंबाट हरेक वर्षको दसैँमा झन्डै २० लाख मानिस गाउँ फर्कने, देशका विभिन्न सहरहरूबाट गाउँतिर जानेहरूको संख्या यकिन नभए तापनि कुल सहरी जनसंख्याको आधा हिस्सा पूरै चलायमान हुने गर्छ । दसैँमा अर्थतन्त्रको बहाव गाउँतिर हुने गर्छ । सहरबाट गाउँतिर अर्थतन्त्रको प्रवाह पनि हुन्छ । हरेक नेपालीको हातमा धेरैथोरै रकम दसैँकै कारण हात पर्ने गर्छ । चाहे कर्मचारीहरूको दसैँ बोनसको रूपमा होस् या पेस्कीको रूपमा, या सापटीको रूपमा होस या ज्याला मजदूरी या सहयोगका रुपमा । खुशीको लहर र उमंगको रौनक लिएर यतिबेला हाम्रो घरआँगनमा दसैँको माहोल छाइसकेको छ । मान्यजनको आशीर्वाद र पारिवारिक सम्मिलनको अवसर जुटाउने दसैँ सामाजिक सांस्कृतिक दृष्टिकोणले महŒवपूर्ण पर्व हो । तर, यो चाडसँग आर्थिक पाटो पनि अभिन्न रूपमा जोडिएको छ, जसले आर्थिक व्यावसायिक क्षेत्रमा उत्साह ल्याउँछ र समग्रमा मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउँछ ।
तर, हामीले मनाउने चाडपर्व पनि आर्थिक रूपमा परनिर्भर हुनुपर्ने अवस्था हुनु दु:खद हो । कृषिक्षेत्र आम्दानीको हिसाबले आकर्षण नरहेकाले युवा बिदेसिन थालेको र बलियो हुँदै जानुपर्ने अर्थतन्त्रको खम्बा झन्झन् कमजोर भइरहेको छ । कृषिका अतिरिक्त अहिले उद्योगधन्दा, पर्यटन पनि शिथिल छन् । तिनै रोजगारीका लागि बिदेसिएकाहरूको रगत–पसिनाले गरेको आम्दानी नेपाल भित्रिएपछि मात्रै धेरैको दसैँ आउँछ, तर दसैँमा भड्किलो खर्च अर्थात् अनावश्यक खर्च कटौती गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बेला भएको छ । अब राज्यले आन्तरिक उत्पादन, निर्यात प्रवद्र्धन, उद्योगधन्दा तथा पर्यटन प्रवद्र्धनजस्ता उपाय अपनाएर तिनलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउन ढिला भइसकेको छ । हाम्रा मौलिक धार्मिक सांस्कृतिक पर्वहरूमा आयातित सामानहरूको उपभोग गरेर बोझिलो बनाउनेभन्दा पनि अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउन स्वदेशी उत्पादनहरू प्रयोग गरी आगामी दिनमा पनि पुँजी निर्माण गरी मुलुकभित्र कृषिजन्य उत्पादनदेखि औद्योगिक उत्पादन वृद्धिमा इँटा थप्न सके चाडबाडमा हुने आर्थिक चलायमानको स्रोतले पनि सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्