हाम्रो अर्थतन्त्र ऋणमुखी भयो «

हाम्रो अर्थतन्त्र ऋणमुखी भयो

जगदीशप्रसाद अग्रवाल नेपाली उद्योग व्यवसाय क्षेत्रको परिचित नाम हो । नेपाल उद्योग परिसंघका पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका अग्रवाल विश्व अर्थव्यवस्था र अवस्थाका बारेमा तथा नेपालको आर्थिक क्षेत्रमा पनि गहिरो अध्ययन गर्ने, कलमसमेत चलाउने गर्छन् । नेपालमा कृषि उत्पादनमा आधारित उद्योग स्थापना गरेर कृषि क्रान्तिमा क्रियाशील अग्रवाल निम्बस समूहका अध्यक्ष पनि हुन् । नेपाललाई आयातबाट होइन उत्पादनबाट नै आर्थिक विकास गर्नुपर्छ भन्ने मान्यता राख्ने अग्रवालको निम्बस समूहले नेपालका कृषकहरूलाई नै मकैखेती, पशुपालनलगायतका क्षेत्रमा प्रेरित गर्ने गरेको छ । नेपालको निजी क्षेत्रमा लामो अनुभव बटुलेका अग्रवालसँग नेपालको विगतको कृषिक्षेत्रको अवस्था, वर्तमान अवस्था र यसको सम्भावित समाधानका उपायहरूको विषयमा कारोबारकर्मी नीरज पिठाकोटेले गरेको कुराकानीको सार :

नेपालको कृषिक्षेत्रको विगतको इतिहास र वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ? राज्यले कृषिक्षेत्रमा लिएको नीति कस्तो पाउनुभएको छ ?
कृषिको कुरा गर्दा नेपालको ५० वर्ष पहिलेको पृष्ठभूमिको परिवेशमा पनि हेर्‍यौं भने हामीले जहिले पनि नेपालको विकासका लागि कृषिलाई मेरुदण्ड मान्दै आएका छौं । राजनीतिक क्षेत्रमा होस्, रणनीति होस् वा उद्योग–व्यवसाय क्षेत्रमा होस्, जसलाई पनि सोध्यौं भने कृषिको कुरा आउँछ । तर, यो ५० वर्षमा हामीकहाँ मात्रै होइन, विश्वमा जुन परिवर्तन आएको छ त्यसलाई हामीले आत्मसात् गर्न सकेका छैनौं । अहिले जुन कृषिको चर्चा चलिरहेको छ, यसको कारण भने अहिले कृषि उत्पादनहरूको आयात बढेको छ । कृषिसम्बन्धी उत्पादनहरू झन् बढेर गयो । नेपाल, जसले चामल निर्यात गथ्र्यो । चामल, धान, गहँुबाहिरबाट आउन थाले के भएको होला भन्ने प्रश्नहरू आइरहेका छन् । दुनियाँको वैश्विक अर्थतन्त्र छ । त्यसमा कृषिले स्थान ओगटेको थियो, ती सबै मुलुकमा कम हुँदै गएको छ । त्यसमा ठूलो आकार रहेको छैन । अमेरिकामा ५०–६० वर्षपहिले कृषिमा आधारित जनसंख्या थियो । त्यहाँ अहिले २० प्रतिशत मात्रै कृषिमा आधारित छन् । अर्थतन्त्रको दोस्रो ठूलो देश, ठूलो जनसंख्या भएको देश चीनमा आजभन्दा ५० वर्षभन्दा पहिलेको र अहिलेको तुलनामा ४० प्रतिशतमा मात्रै छन् । अर्को भारतमा पनि अहिले ५० प्रतिशतमा झरेको छ । यो आफैं झरेको होइन । यो विकासको नयाँ रणनीतिहरू मुलुकहरूमा आएका छन् । त्यसमा के भएको छ । कतिपय मुलुकले कृषिलाई नै आधार बनाएका छन् भने कतिपयले सेवा क्षेत्रलाई विस्तारित गर्दै कृषिलाई संकुचित बनाएको छ । पछिल्लो अवस्थामा रूस र युक्रेनका विषयहरू आएका छन् । दुनियाँले के भोग्दै आएका हुन् भने यिनीहरू खाद्यान्नका ठूला आपूर्ति गर्ने देशहरू हुन् । हाम्रो नेपालमा पनि युक्रेनबाट धेरै खाद्यान्न आयात हुने गरेको छ । यी देशहरूमा पनि कृषिमा आधारित जनसंख्या घटेको छ । उत्पादन बढेको छ । यसबाट के देखिन्छ भने कृषिको जुन खेती गर्ने तरिका छ, त्यो खेती गर्ने तरिकामा दुईवटा कुरा छन् । एउटा, प्रविधिको प्रवेश भएको छ र मानिसको संलग्नता घटेको छ । यसरी हेर्दा कृषिमा जनसंख्या घटेको छ । तर, प्रविधिको प्रयोग धेरै बढेको छ । यसको अर्थ त्यति नै जमिन अथवा त्योभन्दा पनि कम जमिनबाट । त्यति नै भन्दिनँ, किनभने अहिले दुनियाँको कुनै पनि जमिन छैन । जहाँको खेतीयोग्य जमिन घटेर सहरीकरण भएको छ, त्यो सहरीकरणले खेतीयोग्य जमिन दुनियाँमा घटेको छ । हाम्रोमा पनि घटेको छ । हाम्रोमा पनि परिवर्तन आएको छ । हाम्रोमा के घटेको छैन भने जमिनमाथि आधारित जनसंख्या छ, त्यो घटेको छैन । यसको मतलब हामीकहाँ प्रविधिले प्रवेश पाएन । हामीले व्यावसायिक खेतीका नामहरू धेरै गयौं । तर, जुन प्रविधि आउनुपर्ने थियो, त्यो आएन । यसको कारण प्रविधिलाई हस्तान्तरण गर्नका लागि खेतीको आकारप्रकार ठूलो हुनुपर्छ । खेतीमा हामीकहाँ खण्डीकरण भयो । खण्डीकरण भएको भूमिबाट नै बढी खेती गरेर आम्दानी बढाउनुपर्छ । जब खेती गर्ने मान्छे जीविकाको लागि मात्रै खेती गर्छ भने तबसम्म खेतीको व्यवसाय अगाडि बढ्न सक्दैन । जब उद्योग गर्ने मान्छेले कमाउनका लागि काम गर्छ, सेवा गर्ने मान्छे कमाउनका लागि काम गर्छ भने खेती गर्ने मान्छेले कमाइका लागि काम किन नगर्ने ? आफ्नो जीविकाका लागि मात्रै होइन, कमाउन र बचत गर्नका लागि पनि काम गर्नुपर्छ । त्यसका लागि व्यावसायिक खेती गर्न आवश्यक छ । खेतीलाई जीविकाको उपायका रूपमा लिएका छौं । राज्यले पनि त्यसलाई जीविकाको रूपमा मात्रै लियो । त्यसैको कारणले होला, हामीकहाँ सहकारीकरण र सानो जमिनमा सानो किसानले खेती गर्ने । त्यस्तो किसिमको खेतीलाई व्यवसायीकरणको कुरा त भयो । तर, त्यसमा दुई पैसा कमाएर धनी हुन सकौं । त्यो मानसिकता नै हामीमा आएन । त्यो मानसिकता किसानमा पनि आएन । राजनीतिमा पनि आएन । राज्यको नीतिमा पनि आएन । हामीकहाँ एउटा कुरा के लाग्छ भने कृषिका लागि हामीले संस्थाहरू धेरै खडा गरेका छौं । बागवानी, अनुसन्धान केन्द्रहरू, कृषि विश्वविद्यालयहरू धेरै स्थापना भएका छन् । हाम्रोबाट जनशक्ति धेरै इजरायलमा गएर काम गरेका छन् । नयाँ–नयाँ परीक्षणहरू पनि भइरहेको सुन्छौं । तर, व्यावसायिक रूपमा भएको छैन । एउटा व्यक्तिले धनी हुनका खेती गर्ने प्रयासस्वरूप व्यावसायिक खेती भएको छ । तर, राजनीति र राज्यको तर्फबाट धनी हुनका लागि नीति बनाएको छैन ।

यहाँले भनेजस्तै जसरी विश्वस्तरमा कृषि उत्पादन गर्ने जनसंख्या घटे पनि प्रविधिले उत्पादन बढेको छ । नेपालमा कृषि उत्पादनमा संलग्न जनसंख्या घटेको छैन । उत्पादन बढेन । प्रविधिको सहयोगमा विश्वासमा कृषि उत्पादन बढे पनि खाद्यसंकटको चिन्ताले निर्यातहरूमा रोक लगाउन थालेका छन् । नेपालमा यसको चिन्ता भएन भने नेपालको भविष्य के होला ?
यो कुरा मैले पटक–पटक ध्यानाकर्षण गराएको छु । नेपालमा खाद्य संकट आउनेवाला छ । अहिले अलि–अलि सुन्नमा आइसक्यो । यो समस्या दीर्घकालीन भने होइन । यसलाई अल्पकालीन रूपमा लिनुपर्छ । किनभने अहिले भूराजनीतिक परिवेशले रूस र युक्रेन विवादले संकट पैदा भएको छ । अर्को प्रत्येक देश कृषिप्रधान देश होइन । दुनियाँ खाद्यान्न आपूर्ति गर्ने देशहरू १५/२० भन्दा बढी छैन । रसिया, अमेरिका, चीन, भारत, युक्रेन, भियतनाम, अस्ट्रेलिया, थाइल्यान्ड आदि लगायतका २० देखि ३० देशहरू होलान् । तर, बाँकी दुनियाँमा २ सयभन्दा बढी देश छन् नि ! आयातकर्ता देश बढी छन् । निर्यातकर्ता देशहरू थोरै छन् । अब बाँकी आयात गर्ने देशहरूमा कृषि उत्पादन हुँदैन भन्ने होइन । उनीहरूको अधिकांशले आयात नै गर्छन् । यसले खाद्य संकट आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । किनभने निर्यात गर्ने देशहरू त २०/३० वटा होलान् । आयात गर्ने २ सयभन्दा बढी देश भएपछि आपूर्ति श्रृंखलामा असन्तुलन आउँछ । पठाउने २०/२५ र किन्नुपर्ने धेरै भएपछि आपूर्तिकर्ताको समस्या हुन्छ । अहिले रसियाले आपूर्ति गर्न सकिरहेको छैन । युक्रेनले गर्न सकिरहेको छैन । चीनले निर्यात बन्द नै गरिदियो । तथापि अन्य देशबाट पनि आयात गरेर भण्डारण गरिरहेको छ । उसले यो संकटहरू पहिलेदेखि नै देखिरहेको छ । कोभिडले अर्को समस्या सिर्जना भएको थियो भने जहाज नपाउने । एक ठाउँबाट अर्को ठाउँमा लैजाने जहाज नपाउँदा आपूर्ति श्रृंखलामा नै प्रभाव परेको छ । आपूर्ति गर्ने खर्च पनि बढेको छ । यसको कारणले हाम्रो नेपालमा संकट आउने त निश्चित नै थियो । किनभने हामी त आयात गर्ने देश भइसकेका छौं । हाम्रो आफ्नो उत्पादन घटायौं । ध्यानै दिएनौं । मैले बारम्बार भन्दै आएको छु । अब हामी कृषिमा ध्यान दिऔं । हाम्रो देशमा कृषिमा आधारित धेरै प्रकारका उत्पादन हुन सक्छ । हाम्रोमा एउटा जमात छ । जो कृषिमा लगानी गरेर व्यावसायिक उत्पादन गर्न चाहनेहरू छन् । त्यसकारण अब कृषिमा सहकारीकरण होइन । व्यावसायिक हुनुपर्छ । वैदेशिक लगानी गरेर नयाँ–नयाँ प्रविधि भिœयाएर पनि व्यावसायिक उत्पादनमा लाग्नुपर्छ भन्ने एउटा मेरो भनाइ छ । कृषिलाई खुलापन गरिनुपर्छ । दोस्रो मेरो भनाइ के हो भने हामीकहाँ भण्डारण क्षमता बढाऔं । हामीले पनि यो समस्या आज छ, भोलि हँुदैन भन्ने होइन । यो तेलजस्तै हो । २० औं वर्षसम्म पनि यो समस्या रहन सक्छ । कृषिको भण्डारण आधुनिक तरिकाबाट गर्ने लगानी गरौं । तेस्रो भारतसँग एउटा सन्धि गरौं । त्यो के हो भने भारतले कृषिसम्बन्धी आपूर्ति नेपालसँग नेसनल ट्रिटमेन्ट अर्थात् अरूलाई जे गरे पनि नेपाललाई भने नरोकोस् । हामीकहाँ सदियौंदेखिको इतिहास हेर्‍यौं भने हामीकहाँ कुनै सामानको अभाव कमै हुने गरेको छ । त्यो के हो भने हामीले भारतबाट आपूर्ति गर्ने गरेकाले समस्या छैन । तर, बेला–बेलामा भारतले अवरोध गर्न खोज्दा समस्या हुने गरेको छ । अब समय यस्तो आएको छ । हाम्रो स्वार्थका लागि सम्झौता गर्नुपर्छ । जस्तै तेलको लागि त गरेका छौं । अहिले रासायनिक मलको पनि प्रयास भएको छ । त्यो राम्रो हो । त्यस्तै नेपाल र भारतसँगको खाद्य सुरक्षाका लागि सम्झौता गर्नुपर्छ । त्यो सम्झौताअन्तर्गत हाम्रो आफ्नो उत्पादन बढे पनि त्यहाँबाट ल्याउनुपर्छ । भारतले जेजस्तो नीति लिए तापनि कुनै रोक हुँदैन भन्ने बुझाइ छ ।

दुईवटा ठूला देश भारत र चीन प्रविधिको विकासले अगाडि बढे । नेपालले कृषि प्रविधि भिœयाउन सकिरहेको छैन । प्रविधि नै ल्याएर कृषि औद्योगीकरण गरे पनि खेतीयोग्य जमिन पर्याप्त छैन । प्रविधि भिœयाएर उत्पादन बढाउन कति सम्भव छ ?
मलाई लाग्छ, एकदम सम्भव छ । हामीकहाँ कृषि उत्पादन गर्नका लागि जमिन छैन भन्ने होइन, जमिन छ । हाम्रो भौगोलिक स्थितिले विभिन्न किसिमको वातावरण दिएको छ । यिनै वातावरणीय विविधताले हाम्रोमा हरेक प्रकारको पैदावारहरू हुन सक्छ । यसमा एउटा कुरा मान्न सक्छु । त्यो विश्वभरि जलवायु परिवर्तनको प्रभाव पर्न सक्छ । त्यो नेपालमा मात्रै होइन भारत, चीन, अमेरिकामा पनि पर्न सक्छ । त्यसको न्यूनीकरणका लागि कटिबद्ध हुनुपर्छ । हाम्रो पहाडी इलाकामा फलफूलको ठूलो सम्भावना छ । हुम्ला जुम्लामा हजारौं टन स्याउखेती ढुवानी अभावले गर्दा बजारमा जान सकिरहेको छैन । झापामा, तराई क्षेत्रमा धान, चामल, गहुँ, उखुँ, सुर्ती खेती हुन्छन् । हामीलाई नगदे बालीहरू लगाउनुपर्छ । धेरै प्रकारको बाली लगाउन हुँदैन । हामीले यस्तो बाली यहाँ लगाऔं कि तुरुन्तै भारततर्फ निर्यात गर्न सकौं । अखबारमा मैले पढेको थिएँ । सर्लाहीको लालबन्दीबाट करोडौंको गोलभेंडा भारतीय बजारमा गएको छ । त्यस्तै आलुको पनि प्रचुर सम्भावना छ । नगदे बालीहरूका आधारमा कृषि प्रशोधन उद्योगहरू पनि लगाउन सकिन्छ । भारत तथा बाहिरबाट आएको कच्चा पदार्थबाट किन डराउने ? हामीकहाँ चामल, तेल आयात हुन थालेपछि मात्रै चिन्तित हुनुपर्छ । हामीलाई सोयाबिन तेल खाने बानी नै थिएन । तोरी पहिलेदेखि हाम्रो उत्पादन हुँदै आएको बाली हो । त्यसको उत्पादन बढाऔं । यदि भारतले अनुदान दिएको धान नेपाल आउँछ भने के आपत्ति ? तरकारी खेतीको विशेषता भनेको आजको आजै जानुपर्छ । तरकारीको मार्केट भनेको भारत दुई किलोमिटर टाढा छ । यसलाई सहज रूपमा भारत लैजाने वातावरण हुनुपर्छ । हामीले आयात गर्ने अधिकांश भारतबाट हो । १३ खर्ब आयात नेपालमा भइरहेको छ । त्यसमध्ये करिब ७/८ खर्ब रुपैयाँ त भारतबाटै आयात गर्छौं । यो भारतका लागि पनि ठूलो र महŒवपूर्ण छ । भारतले निर्यात गर्ने विश्वका १० देशमध्ये एउटा नेपाल पनि हो । भारतको औपचारिक र अनौपचारिक गरी करिब १० खर्ब रुपैयाँको बजार नेपाल छ । आज हामीभन्दा बढी बजार दिने सार्क मुलुकहरूमा बंगलादेश एउटा हो । आजको दिनमा ताकत त बजार हो नि, यदि नेपालले १० खर्ब रुपैयाँको बजार भारतलाई दिइरहेका छौं भने भारतले पनि हामीले सम्झौता गर्‍यौं भने हामीलाई २/३ खर्ब किन नदिने ? दिन्छ । हामीले त्यस्तो उहाँहरूसँग सन्धि पनि गर्न सक्छौं । नेपालमा जति निर्यात गर्न सक्छ गरोस् । तर, त्यसको आधा वा २५ प्रतिशत मात्रै हाम्रो वस्तु लिनुपर्छ । त्यो पनि गर्न सकिन्छ । यसका लागि हामी सर्त राखौं । यो व्यापार भनेको राजनीतिबाट पनि परिचालित हुन्छ । आज अमेरिका र चीनको कति राम्रो सम्बन्ध थियो । आज राजनीतिले बिगारेको छ । यसकारण व्यापारलाई राजनीतिबाट अलग गर्न सकिँदैन । तर, हाम्रो अन्तिम ध्येय व्यापार हुनुपर्छ । व्यापारले सम्पन्नता ल्याउँछ । समृद्धि ल्याउँछ । व्यापारलाई अगाडि बढाउने हो भने समृद्धि र सम्पन्नतालाई अगाडि बढाउने हो भने राजनीतिलाई पनि त्यहीअनुसार विकास गर्नुपर्छ ।

नेपालको राजनीति यहाँले भनेजस्तो दिशामा गइरहेको छ अहिले ? यहाँलाई लाग्छ ?
मलाई लाग्दैन कि राजनीति त्यो दिशामा छ । म मान्छु यो कुरालाई । तर, मलाई के लाग्छ भने यो नहुनुको कारण हामीहरूकहाँ अहिलेसम्म राजनीतिक दलहरूले परराष्ट्र नीतिलाई आफूलाई सत्तामा पुग्ने भर्‍याङमात्रै बनाएको छ । यस कारणले गर्दा हाम्रा समस्याहरू रणनीतिहरू फेल खाएका छन् । हाम्रो कमजोरी भनेको राजनीतिक परनिर्भरता हो । परनिर्भरता भौतिक होइन । राजनीतिको परनिर्भरताले अर्थात् सत्तामा आउनका लागि आफ्नै शक्तिले नसक्ने सत्तामा आउनका लागि अरूको ताकत लिएर सत्तामा आउन कोसिस गर्ने यो परनिर्भरता छ जस्तो लाग्छ । यसलाई हटाउनुपर्छ ।

अहिले भारतले कनिकामा प्रतिबन्ध लगाएको छ । धान र चामलमा २० प्रतिशत कर लगाएको छ । नेपालका व्यवसायीहरू भने धान आउँदा पनि नेपालका उद्योगहरू संकटमा पर्‍यो भन्छन् । चामल आउँदा पनि संकटमा पर्‍यो भन्छन् । यसको तथ्यचाहिँ के होला ?
मलाई के लाग्छ भने । जो जसले जे काम गरिरहेको छ, उसले आफूलाई परेको पीरमर्का छ नि ! त्यसलाई बोलेको हुन्छ । जसले चामलको यहाँ प्रोसेसिङ गर्छ उसको लागि बाहिरबाट चामल आयो भने समस्या हुन्छ भन्छ । त्यसकारण उसले त्यसको विरोध गर्छ । जसले धान आयात गरेर यहाँ चामल उत्पादन गर्छ उसलाई धान त्यही समस्या बोल्ने हो । तर, हामीले यो समस्यालाई अलिकति बृहत् रूपमा लिएर सम्पूर्ण नेपालको पृष्ठभूमिलाई हेर्नुपर्छ । नेपालको कृषि उत्पादनलाई प्रोत्साहन दिनुपर्छ । कृषिलाई प्रोत्साहन दियो भने खाद्य सुरक्षा हुन्छ र कृषिलाई दिने प्रोत्साहन भनेकै प्रोसेसिङ हो । कृषिलाई प्रोसेसिङ गर्न दुईवटा कुरा छन् । एउटा के हो भने के तयारी माललाई बाहिरबाट आउन बन्द गर्ने हो ? म त्यो पक्षमा छैन । कुनै पनि वस्तु बाहिरबाट आउन दिनुपर्छ । त्यसमा पनि दैनिक उपभोग्य वस्तुहरूमा त झन् त्यो रोक्नु हँुदैन । आउन दिनुपर्छ । खुला प्रतिस्पर्धा हुनुपर्छ । त्यसबाट यहाँ प्रोसेसिङ गर्नेहरूलाई पनि एउटा दबाब के पर्नुपर्छ । हामीले बाहिरबाट आउने वस्तुको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नैपर्छ । अब कुरा रह्यो, बाहिरको मालसामान यहाँ आएर सस्तो किन पर्छ ? त्यसको एउटा कारण हुन सक्छ । त्यहाँको धान या कच्चा पदार्थमा अनुदान दिएको हुनुपर्छ । अनुदान दिएको छ भने कच्चा माल नै सस्तो छ । हाम्रोमा कच्चा माल महँगो छ । त्यो हो भने कच्चा माल आउन दिनुपर्छ । होइन भने यहाँ धान सस्तो गर्नुपर्छ । धान सस्तो गर्नलाई के गर्ने भन्ने कुरा आउँछ । हामीले पनि अनुदान दिन सक्छौं भने ठीक छ । यदि अनुदान दिन सकेनौं भने स्वत: बन्द भएर जान्छ । हामीले धानलाई रोक लगायौं भने यहाँ महँगो हुन्छ । यदि धानलाई रोक लगाएनौं भने यहाँका किसानको उत्पादन बन्द हुन्छ । ती किसानहरू अरू नै उत्पादनतर्फ लाग्नुपर्छ । दोस्रो, त्यहाँ उत्पादन सस्तो छ, कुनै सामानको भने मात्रै आउँछ । हाम्रोमा उत्पादन सस्तो नहुनुमा कच्चा पदार्थ भयो । अर्को प्रोसेसिङ सस्तो र महँगोको कुरा गर्दा मुख्यत: तीनवटा कुराले काम गरेको हुन्छ । लेबर, ऊर्जा र ढुवानी पहिलो प्रोसेसिङ हाम्रोमा लेबरले काम गरेन । अब लेबरको उत्पादन र उत्पादकत्वले महŒव राख्दैन । अर्को ऊर्जा । उर्जाको उत्पादन नभएसम्म समस्या थियो । अब त्यो समस्या छैन । छिमेकी देशमा जुन दरमा बिजुली पाएको छ । त्यही दरमा यहाँ हुनुपर्छ । अझ सस्तो भए झन् राम्रो । तेस्रो कुनै पनि उत्पादनको महŒवपूर्ण पक्ष भनेको उत्पादन कति गर्ने ? त्यो स्केल बढी भयो भने प्रविधि ल्याउनुपर्छ । यदि उत्पादन बढी भयो भने कहाँ जाने ? हाम्रोमा समस्या के छ भने एउटा उद्योग लाग्यो भने त्यस्तै उद्योग सयकडौं लाग्छ । हामीकहाँ कुनै पनि उद्योगको लगानीमा लगानीकर्ताको लगानी मानिलिनुस् ३० प्रतिशत मात्रै लागेको हुन्छ । बाँकी लगानी बैंकको ऋण हुन्छ । बैंकले किन सोचेर, सम्झेर ऋण लगानी गर्दैन ? यसको कारण बैंकलाई जोखिम छैन । बैंकले पनि जोखिम लिन सिक्नुपर्छ । बैंकले प्रोजेक्टको सम्भाव्यता नहेरी व्यक्ति हेरेर लगानी गर्छ । यसको कारण उसको जोखिम बैंकलाई थाहा छ कि मलाई जोखिम छैन । जब उद्योगको लगानीकर्ताले लगानी गर्छ उसले त जोखिम लिएको छ । अरू कुनै क्षेत्रमा लगानी गर्दा, विदेशबाट लगानी किन नआएको भन्दा मेरो जोखिम बढी छ भनेर आउँदैन । नेपालमा बैंकहरूले जब लगानी गर्छ, उसलाई मेरो पैसा कहीं पनि जाँदैन भन्ने लाग्छ । त्यसैले बैंकले ऋण लगानी गर्दा जोखिम लिने वातावरण बनाउनुपर्छ । अनि स्वत: अहिले भीडजस्तो लगानी बन्द हुन्छ । जो राम्रा सम्भाव्यता भएका उद्योगहरू छन्, त्यसमा लगानी हुन्छ । अहिले उद्योगहरूमा लगानी गर्‍यो–गर्‍यो, फेरि उद्योग बन्द हुन्छ । हाम्रो अर्थतन्त्र छ नि, ऋणमुखी भयो । ऋण सजिलो पायो । ऋण सस्तोमा पायो, त्यसको कुनै प्रकारको जोखिम बैंकले लिएन अनि लगानीकर्ताको टाउकोमा हालिदियो । बैंकले यो जोखिम लिएर उत्तरदायी बनाउनुपर्छ । ठूला–ठूला योजना आउँछन् । सिमेन्टमा हेर्नुस्, कति लगानी आइरहेको छ । उद्योगमा ऋण दिने निकायहरूले जोखिम लिने गरी नीति ल्याउनुपर्छ । भारत र नेपालको प्रोसेसिङको लागत एउटा बिन्दुमा ल्याउन सक्यौं भने यहाँ नै प्रोसेसिङ हुन्छ । एग्रो प्रोसेसिङ नेपालमा गराउने हो । कच्चा पदार्थ जहाँबाट सस्तो पाइन्छ, त्यहींबाट ल्याउने हो । एग्रो प्रोसेसिङ उद्योगहरूलाई सहायक हुने गरी उत्पादन लागत घटाउनुपर्छ । हाम्रोमा उत्पादन लागत बढी भएर महँगो पर्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्