Logo

शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने

शिक्षा विद्हरूले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले यस्तो बताएका हुन् ।
उनीहरूले विद्यार्थीहरूलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविद्हरूले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरूसमेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले निजी विद्यालयहरूले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुइटा बुझाई भएको कारण विद्यार्थीहरू समस्यामा परेको दाबी गरे । उनले विद्यार्थीहरूलाई सरकारले एसईई दिएपश्चात् के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्ग निर्देशन गर्न नसकेको बताए । कोइरालाले विश्व विद्यालय लचिलो नभए विद्यालयहरूमाथि गएको अर्थ नहुने बताए ।
उनले क्याम्पस तल आएको र विद्यालय माथि गएको भन्ने विषय स्पष्ट निजी विद्यालयहरूको छुट्याउन सुझाव दिए । शिक्षाविद् कोइरालाले विद्यालयका शिक्षकहरूको कमजोरीको कारण विद्यार्थीहरूको नतिजा राम्रो नआएको बताए । उनले अब विद्यार्थीहरूको नतिजा राम्रो बनाउनका लागि शिक्षकहरूलाई पनि अब्बल बनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘पछिल्लो समय निजी विद्यालयहरूले क्याम्पस तल आएको बुझ्नुभएको छ । सरकारले विद्यालय माथि गएको भन्ने बुझ्नुभएको छ । दुईवटा बुझाइले गर्दा अहिले विद्यार्थीहरू फसेका छन् । अहिले विद्यार्थीहरूले एसईई दिएर माथि गएर के विषय पढ्ने भन्ने यकिन गर्न सकेनौं । अब युनिभर्सिटी प्रणाली लचिलो भएन भने विद्यालय माथि गएको अर्थ केही हुँदैन । निजी विद्यालयका साथीहरूले स्पष्ट पार्नुपर्‍यो विद्यालय माथि गएको हो वा क्याम्पस तल गएको हो । क्याम्पसहरूले विद्यार्थीहरूलाई यो विषय पढेन भने काम छैन भनेर भन्न पाइँदैन । त्यस्तो गर्दा विद्यार्थीहरूलाई अन्याय हुन्छ विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउनुपर्छ । विद्यार्थीहरूको नतिजा शिक्षकहरूको कारणले नै नराम्रो आउने हो । विद्यार्थीलाई संघीय सरकार,प्रदेश र स्थानीय सरकारले पढाउने होइन शिक्षकले पठाउने हो । अब शिक्षक सुध्रने हो भने बन्ने हो नभए बन्दैन । शिक्षकहरूलाई ग्रेडिङ गर्नुपर्ने बेला भयो । अब्बल, दोयम, सिम र चार गरी शिक्षक आफैले आफैंलाई ग्रेडिङ गर्ने गरी गर्नुपर्छ ।’
त्यस्तै शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले शिक्षाविद्हरूले दिएको सुझाव तथा कुरा सुन्न छोडेको गुनासो गरे । उनले मन्त्रालयमा मन्त्रीहरूको गणेश बनेर घुम्नेहरूको मात्रै कुरा सुनेर कार्यान्वय हुने गरेको बताए । वाग्लले २०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको शिक्षा मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै कुल्चिएर एसईई परीक्षा ध्वस्त बनाएको आरोप लगाए । उनले मुलुकभरका विद्यार्थीहरूलाई विद्यालय, क्याम्पस,तथा युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई सिकाउने भन्दापनि पढाउने काम मात्रै हुँदा गुणस्तरियता कम हुँदै गएको बताए । उनले विद्यार्थीहरूले राम्रो ग्रेड ल्याएर पास भए पनि उनीहरूले माथिल्लो कक्षामा पुगेपछि काम नलाग्ने बताए । वाग्लेले विद्यालय तथा क्याम्पसहरूमा पाठ्यक्रम भन्दापनि टेस्ट बुकको आधारमा पढाइभएको बताए । उनले टेस्ट बुक सबै नभएपनि नेपालमा टेस्ट बुक नै अल इन अल हुँदै गएको बताए ।
उनले भने, ‘अहिले बोल्ने मोड छैन । हामीले बोलेको कुरा कार्यान्वयन हुँदैन । यहाँ गणेशहरूले वरिपरी घुम्यो भने उसैका कुरा सुन्ने गर्छन् । सिङ्गो सरकार वा शिक्षा मन्त्रालय शिक्षाविद्हरूका कुरा सुन्न तयार छैन । वि.सं.२०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै निर्णयलाई कुल्चिएर देशको एसईई परीक्षा ध्वस्त बनाएको हो । त्यसलाई गाइडलाई गर्न ग्रेडिङ निर्देशिका आयो त्यो राम्रो छ । देशमा विद्यार्थीहरूलाई पठायौं मात्रै सिकाउने काम भएन । हाम्रा विद्यार्थीले माथि गएर गरिखान सक्दैनन् । टेष्ट बुक घोकाएका छौं । विद्यार्थीहरूको क्षमता थाहा पाउन सकेका छैनौं । हाम्रो पाठ्यक्रमलाई फालेर टेस्ट बुकलाई फालेका छौं । टेस्ट बुक सम्पूर्ण होइन । हाम्रो देशमा टेस्ट बुक नै अल इन अल हो । अहिले आइटम बैंकिङका कुरा आएका छन् । आइटम बैंकिङ पनि टेस्टबुकको कन्सेप्ट नहोस् ।’
त्यस्तै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षालाई देशको उत्पादन र अन्य चारित्रिक कुराहरूमा जोड्ननसके देशको समग्र शिक्षा प्रणाली फेलियर हुने बताए । उनले विद्यालय तह,क्याम्पस तहको नजितालाई कुनै एउटा निकायले अनुसन्धान गर्नुपर्ने बताए । भण्डारीले राष्ट्रको क्षमता मापन गर्ने राष्ट्रिय परीक्षा एसईईको नतिजाले शिक्षा क्षेत्रमा डर लाग्दो अवस्था देखिएको बताए ।
उनले यो वर्षको एसईईको नतिजाले सरकारको शिक्षामा लगानी नपुगेको देखिएको बताए । उहाँले शिक्षामा लगानी नपुगेको वा लगानीको प्रतिफल लिन नसकेको र विद्यार्थी पढ्न नगएको स्पष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्