Logo

नेपालगन्जका विद्यालयमा पाँच वर्षपछि दरबन्दी मिलान

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले लामो समयपछि साुमदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलान गरेको छ । नगर शिक्षा समितिको २०७९ भदौ २१ गतेको निर्णय बमोजिम पाँचबर्षपछि दरबन्दी मिलान गरिएको हो ।
शिक्षा सुधार योजनाअन्तगर्त शिक्षक दरबन्दी मिलान कार्यविधि २०७८ अनुसार उपमहानगरपालिका भित्रका साुमदायिक विद्यालयका ४८ जना शिक्षकको दरबन्दी मिलान गरिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए । ‘विभिन्न विद्यालयका ४८ जना शिक्षकको दरबन्दी मिलान गरी पदस्थापन गरिएको छ’, उनले भने, ‘विद्यार्थी संख्या न्युन भएका तीन वटा विद्यालयहरूको तह घटाइएको छ ।’
दरबन्दी मिलान गरिएका उपमहानगरपालिका भित्रका मावि तहका ११ जना, निमावि तहका ९ र प्राविका २८ शिक्षक गरी ४८ जनालाई पदस्थापन गरिएको उनको भनाइ छ । नगर शिक्षा समितिको निर्णयले विद्यार्थी संख्या न्यून भएका उपमहानगरपालिका भित्रका तीनवटा विद्यालयहरूको तह घटाएको छ ।
नेपालगन्ज १५ सुईयास्थित कक्षा ८ सम्म सञ्चालित नेरा आधारभूत विद्यालयलाई कक्षा १ देखि ५ सम्म मात्र सञ्चालन हुने गरी तह घटाइएको छ भने नेरा आधारभुत विद्यालय रानी तलाउ र श्री भवानी नेरा आधारभूत विद्यालय मदनापुरलाई १ देखि ३ कक्षासम्म मात्र सञ्चालन हुने गरी तह घटाईएको छ । यसअघि यि दुवै विद्यालय १ देखि ५ कक्षासम्म सञ्चालित थिए ।
दरबन्दी मिलान तथा कक्षा समायोजनले विद्यार्थीको शैक्षिक सुधार हुनुका साथै विद्यालयको आवश्यक्ता अनुसार शिक्षकलाई नयाँ विद्यालयको अनुभव दिने गरी परिचालन र विद्यालयको नेतृत्व व्यवस्थापन गर्ने गरी समग्र शैक्षिक वातावरणमा सुधार आओस भन्ने हेतुले दरबन्दी मिलान गरिएको उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयमा पाँच बर्ष देखि शैक्षिक दरबन्दी मिलान हुन सकेको थिएन । गत वैशाखमा भएको निर्वाचनवाट दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व आएसँगै शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै प्रत्यक वर्ष दरबन्दी मिलान गर्न सकियो भने पनि यसले शिक्षाको गुणस्तर सुधारमा मद्दत मिल्छ भन्ने अपेक्षाका साथ दरबन्दी मिलान गरी पदस्थापन गरिएको मेयर प्रशान्त विष्टको भनाइ छ । ‘म विद्यार्थी राजनीतिबाटै मेयर भएको हुँ, त्यसैले मेरा प्राथमिकतामा शिक्षा रहेको छ’, उनले भने, ‘दरबन्दी मिलानले शिक्षाको गुणस्तर सुधारमा मद्दत मिल्ने हाम्रो ठम्याइँ छ ।’
साविक जिल्ला शिक्षा कार्यालयले २०७४ सालमा दरबन्दी मिलान गरे पनि स्थानीयतह सञ्चालनमा आएपछि नेपालगन्जका सामुदायिक विद्यालयमा दरबन्दी मिलान हुन सकेको थिएन । दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षकहरू असोज १ गतेभित्र तोकिएको कार्यस्थलमा गईसक्नु पर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

उक्त निर्णय अटेर गरी तोकिएको समयभित्र कार्यस्थलमा नजाने शिक्षकहरूको उपमहानगरपालिकाले शिक्षा ऐन, नियमावलीबमोजिम विभागिय कार्वाही, कारबाहीका लागि सिफारीस गर्नुका साथै सेवा सुविधा रोक्का गरीने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्