सहुलिय पसलले राहत, एकैदिन लिए चार सयले चामल

दसै र तिहारलाई लक्षित गरी जुम्लामा सञ्चालित सहुलिय पसलले जुम्ली विपन्न नागरिकलाई राहत भएको छ ।
बजारमा महंगी बढ्दै गएको र खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले विगतमा दिँदै आएको मुल्य भन्दा प्रतिकेजी ७ रुपैयाँ छुट दिँदा जुम्ली विपन्न नागरिकले राहत पाएका हुन् । पातारासीकी विष्णुमाया एैडीले बजारमा महंगी बढीरहेको खाद्यमा सस्तोमै दाल चामल पाउँदा राहत मिलेको बताइन् । उनले भनिन, “सहुलिय पसलबाट विपन्न नागरिकले प्रत्यक्ष राहत पाएका छन् । छुट सुविधाले आउने जाने भाडा बचेको छ । स्थानीय सरकारले समन्वय गाउँमै सहुलिय पसल भए सहज हुन्थ्यो ।” विष्णुमाया जस्तै जुम्लाका सयौ विपन्न नागरिकले सहुलिय पसलबाट राहत मिलेको बताएका छन् ।
आइतबार मात्रै सहुलिय पसलबाट जुम्लाका ४ सय जना नागरिकले चामल लिएका छन् । खाद्यन्नमा छुट पाएपछि एकै दिन आइतबार अहिले सम्मकै धेरै संख्यामा ४ सयजनाले चामल लिएका हुन् । जुम्लामा १ असोजबाट सहुलिय पसल सञ्चालन भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्ला शाखाका प्रमुख निर्मल बिष्टले भने, “सहुलिय पसलले विपन्न नागरिकलाई थोरै भएपनि राहत पुगेको छ । आइतबार एकैदिन चार सय जनाले झण्डै १ सय ५० क्वीन्टल चामल लिएका छन् । ६ प्रकारका चामल र ३ प्रकारको दालतमा प्रतिकेजी ७ रुपैया छुट दिईएको छ । छुटको मूल्यले टाढाँबाट आउनेलाई भाडासम्म बच्छ ।”
प्रमुख विष्टका अनुसार सहुलिय पसल सञ्चालनका लागि १ हजार २ सय क्वीन्टल स्वीकृत भएको छ । १५ कात्तिकसम्म सहुलिय पसल सञ्चालन हुने छ । उपभोक्ताको चापबढी रहेकोले चामल सकिएकै दिनदेखि सहुलियत पसल स्वतह: बन्द हुने प्रमुख विष्टको भनाइ छ ।
बास्मति चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अलहरको दाल र मसुरोको दाल प्रतिकेजी ७ रुपैयाँ छुट दिँदा विगतको भन्दा २ सयदेखि साढे दुई रुपैयाँ नागरिकले छुट पाएका छन् । चामल लिन बढी पातारासी, गुठिचौर र चन्दननाथका नागरिक आउने गरेका छन् ।
दसैं तिहारमा खाद्यन्न अभाव नहुने
नजिकिँदै गरेको दसैंमा जुम्लामा खाद्यन्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि ६ हजार क्वीन्टल स्वीकृत भएको छ । जसमा हालसम्म १ हजार २० क्वीन्टल ढुवानी भइसकेको छ ।
दसैं तिहारका लागि मात्रै ९ सय ७० क्वीइन्टल खाद्यन्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । उनले भने, “दसैं तिहारमा चालम अभाव हुन्न । कारागारदेखि आम नागरिकलाई पुग्नेगरी मौज्दात गरेका छौ । घरमा स्टकका लागि लिनेलाई भने कडाई गर्दैछौं । चालु आवको हालसम्म ४ सय क्वीन्टल चामल बिक्री भइसकेको छ ।”
जुम्लाकोट डिपोका लागि १ हजार क्वीइन्टल स्वीकृत भइसकेको छ । धापा डिपोको टेण्डर गर्दा कसैको परेको छैन । जुम्ला शाखाको पनि पछिल्लो चालम ढुवानीका लागि टेण्डर आह्वान गर्दै कसैको नपरेकोले पुन: टेण्डर गर्ने तयारी छ । साथै कारागारका लागि १ सय ७० क्वीन्टल चालम छुट्टै मौज्दात गरिएको छ ।
उता डोल्पा काइगाउँ डिपोका लागि ५ सय क्वीन्टल र सर्मी डिपोका लागि ७ सय ५० क्वीन्टल स्वीकृत भई ढुवानी प्रक्रियामा रहेको छ भने ढिलोमा तिहारसम्म डोल्पामा चामल पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै चालु आवको हालसम्म जुम्लामा जन्म मृत्युको २० किलो चामल १ सय ६७ जनाले लिएका छन् भने अहिले सम्मकै बढी भदौमा मात्रै ९३ जनाले सेवा उपभोग गरेका छन् ।