शैक्षिक संस्थाहरूमा तालबन्दी गर्नै नमिल्ने दाबी «

शैक्षिक संस्थाहरूमा तालबन्दी गर्नै नमिल्ने दाबी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरूमा तालबन्दी गर्नै नमिल्ने बताएका छन् । शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उनको भनाइ थियो ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शैक्षिक संस्थामा कुनै समस्या भए समाधान गर्नका लागि छलफल र बहस गर्न सकिने उल्लेख गर्दै त्यसका लागि तालाबन्दी नै गर्न आवश्यक नभएको पनि स्पष्ट पारे ।
उनले शैक्षिक क्यालेन्डर आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न पनि राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरूलाई निर्देशन दिए । परीक्षा दिएकाहरूले समयमै रिजल्टसमेत प्राप्त गर्न नसकेको विद्यमान अवस्थाबारे चित्रण गर्दै शिक्षामन्त्री पौडेलले अब शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पारे ।
मन्त्री पौडेलले त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए आफूले त्यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्