Logo

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरू

सरकारले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार सुरु गरेको छ । जापानी सहयोग नियोग (जाईका) सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट नै निर्माण प्रकृया थालेको हो ।
सूर्यविनायक–धुलिखेल १५.९ किलोमिटरमध्ये विभागले दुई खण्डमा विभाजन गरेर निर्माण थाल्ने प्रकृया अगाडि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । विभागले सूर्यविनायक–साँगा–धुलिखेल गरेर दुई भागमा खण्ड विभाजन गरेको छ । भक्तपुरमा साढे ७ मिलोमिटर र काभ्रेतर्फ साढे ८ किलोमिटर सडक विस्तार गर्ने गरी प्रकृया थालिएको छ । पहिलो चरणमा विभागले साँगा–धुलिखेल (साढे ८ किलोमिटर) विस्तारको लागि बोलपत्र आह्वान गरेको महानिर्देशक थापाले बताए । सूर्यविनायक–धुलिखेल पूरा खण्डकै भने करिब ९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
आयोजना व्यवस्थापन गर्न र योग्य निर्माण कम्पनी छानेर समयमा नै आयोजनाले पूर्णता पाउन २ खण्डमा विभाजन गरेर बोलपत्र आह्वान हुने गरी विभागले प्रकृया अगाडि बढाएको महानिर्देशक थापाको भनाइ छ । साँगा–धुलिखेल खण्डको लागि आवेदनका आधारमा अर्काे खण्डको पनि बोलपत्र आह्वान गर्ने योजना विभागको छ । सो खण्डमा ४ वटा पुल निर्माण गर्नु पर्नेछ । सूर्यविनायकदेखि साँगासम्म २ र साँगादेखि धुलिखेलसम्म अर्काे २ वटा पुल निर्माण गर्नु पर्नेछ । आयोजनाले १४ भदौमा सूचना निकालेर बोलपत्र आह्वान गरेको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना प्रमुख इन्जिनियर रविन्द्रलाल दासले बताए । उनले भने, “सो खण्डको लागि करिब ४ अर्ब ८९ करोड रुपैयाँ अनुमानित लागत आह्वान गरिएको छ । निर्माणको जिम्मा पाउने कम्पनीले ३ वर्षमा निर्माण पूरा गर्नु पर्नेछ र थप १ वर्ष मर्मत गर्र्नु पर्नेछ ।”
आयोजना प्रमुख दासका अनुसार सडक ४ लेनमा विस्तार हुनेछ र बीचमा ३ मिटरको मेडियन निर्माण हुनेछ । साथै दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । आगामी मंसिरबाट नै यो खण्डको काम सुरु गर्ने गरी काम सुरु गरिएको प्रमुख दासको भनाइ छ । सूर्यविनायक–साँगा खण्डको लागत चार अर्ब रुपैयाँ हाराहारी हुने आयोजनाको भनाइ छ ।
सडक विस्तारसँगै बीपी राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनको आगमन सहज हुने अपेक्षा गरिएको छ । वीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्ग हो । १ सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्