Logo

बत्ती हुँदा पत्ती छैन पत्ती हुँदा बत्ती छैन

हैरानीमै चिया व्यवसायी

??

इलाम चियाको राजधानी हो । यहाँ चिया उत्पादन गरेर नै धेरै किसान तथा उद्योगीहरूले जीविकोपार्जन गरिरहेका छन् । चियाको जिल्ला भनेर बाहिर सुन्दा जति सानदार सुनिन्छ, उति नै पीडा पनि छ किसान तथा उद्योगीहरूमा ।
हरियो चिया उत्पादन गर्नु एउटा पाटो । पुन: त्यसलाई प्रशोधन गर्नु महŒवपूर्ण अनि अर्को पाटो । चिया तयार गर्न प्रशोधन गर्न आवश्यक छ । तयारी चियामात्र बजारसम्म वा उपभोक्ताकोमा पुग्ने गरेको छ । हरियो चियामात्र कारखाना र केही गाउँमा नै उपभोक्ताले फाट्टफुट्ट रूपमा खरिद गर्छन् । तर, खानयोग्य तयारी चियामात्र जिल्लाबाहिर वा देशबाहिर जाने गर्छ ।
चिया रोपेको चार वर्षदेखि उत्पादन सुरु हुन्छ । चिया उत्पादनका लागि निकै स्याहार र मल–पानी आवश्यक पर्छ । रोपिएको चिया उत्पादनकै लागि चार वर्ष कुर्नुपर्ने त छँदै छ, बीचमा गोडमेलमा उत्तिकै समय खर्चिनुपर्छ । चिया उत्पादन त हुन्छ, उत्पादनपछि त्यसलाई ओइलाएर माड्न र सुकाउन निकै इन्धनको आवश्यकता पर्छ । सोही इन्धन सहज नहुँदा किसान तथा उद्योगीलाई निकै समस्या हुने गरेको छ ।
चियाको मुख्य सिजन भनेकै यही हो । अर्थात् वैशाखदेखि कात्तिक दोस्रो हप्तासम्म चियाबाट राम्रो आम्दानी दिन सकिन्छ । यो सिजन हरियो चिया उत्पादन हुने सिजन हो । उता चिया प्रशोधनमा सबैभन्दा राम्रो इन्धन उत्पादन हुने सिजन पनि यही हो । अर्थात् चिया प्रशोधनमा लाग्ने इन्धन भनेकै विद्युत् हो । बर्खामा खोलानाला बढ्ने भएकाले सबैभन्दा बढी विद्युत् पनि यही सिजनमा उत्पादन हुने गरेको छ । तर, यहाँका चिया कारखानाहरूले चिया प्रशोधनका सिजनमा बत्ती नपाउँदा हैरानी बेहोर्नुपरेको छ ।
इलाम चियाको राजधानी मात्र हैन, इलाम विद्युत् उत्पादनका लागि पनि उत्तिकै सम्भावना बोकेको जिल्ला हो । यहाँ हाल १३ वटा हाइड्रो सञ्चालनमा छन् । उनीहरूले क्षमताअनुसारकै उत्पादन समत गरिरहेका छन् । अन्य केही विद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । हाइड्रोको जिल्लासमेत भनेर चिनिने इलाममा बर्खामा गाउँका बासिन्दाले कतै १५ दिन पनि विद्युत् बाल्न पाउँदैनन् ।
दैनिक दर्जनौं पटक विद्युत् काटिने समस्याले यहाँका किसान तथा उद्योगले खुलेर व्यवसाय वृद्धि गर्न नसक्ने अवस्था आएको बताउने गरेका छन् ।
झ्याप्प–झ्याप्प विद्युत् जाने समस्याबाट यहाँका उद्योगीहरू हैरान भएका छन् । जानकारी नै नदिई विद्युत् काटिन थाले पनि यहाँका किसान मारमा परेका हुन् । इलाम फाकफोकथुममा रहेको तीनजुरे कृषक चिया सहकारी संस्थाले सञ्चालनमा ल्याएको तीनजुरे चिया प्रशोधन उद्योगमा खासै विद्युत् नहुने गरेको बताइएको छ । उद्योगका व्यवस्थापक पदम तामाङले पूर्वजानकारीबिना नै बत्ती काटिँदा समस्या भएको बताए । उनले उद्योगले हाल जेनेरेटर राखेर काम गर्दै आएको बताए ।
दैनिक ५ सय हरियो चिया प्रशोधन गरेर सुक्खा १ सय किलो चिया उत्पादन गर्दै आएको सो उद्योग बत्ती नहुँदा घाटामा कारोबार भइरहेको बताइएको छ । यसको प्रत्यक्ष मार किसानले नै भोग्नुपरिरहेको छ ।
विद्युत् नहुँदा डिजेल खरिद गरेर कारखाना सञ्चालन गर्नुपर्दा ७० प्रतिशत माथि खर्च बढ्ने उनले बताए । उनका अनुसार पेट्रोलपम्पबाट १ सय ७० रुपयाँमाथि खरिद गरेको डिजेल कारखानामा पुग्दा प्रतिलिटर २ सय माथि पुग्ने र सो इन्धनले कारखाना सञ्चालन गर्नुपर्दा समस्या भएको बताइएको छ । मेसिन सञ्चालन गर्न र चुलोको तापक्रम डायरसम्म पुर्‍याउन नै विद्युत् आवश्यक भए पनि अत्यधिक विद्युत् काटिने समस्याले यहाँका उद्योग मारमा परेका छन् ।
उनका अनुसार जेनेरेटर सञ्चालन गरी मेसिन सञ्चालन गर्न एक घण्टामा १० लिटर डिजेल आवश्यक पर्छ । सो डिजेल प्रयोग गर्न नपर्दा कारखानालाई ७० प्रतिशत रकम बच्नेसमेत उनले बताए ।
त्यस्तै इलाम नगरपालिका १ मा सञ्चालित पाथीभरा चिया प्रशोधन उद्योगमा समेत उस्तै समस्या छ । सञ्चालक मिलन दाहालले अनावश्यक विद्युत् काटिने समस्या रहुन्जेल उद्योगहरू फस्टाउन नसक्ने बताए । उनले यसको निराकरणका लागि विद्युत् कार्यालय लाग्नुपर्ने उनको भनाइ छ ।
हाल जिल्लाको पश्चिमी क्षेत्रमा खासगरी विद्युत् काटिने समस्या बढ्दै गइरहेको छ । जिल्लाका पूर्वी क्षेत्रमा केही सुधार भए पनि पश्चिमी र उत्तरी क्षेत्रमा यो समस्या भने बढ्दै गएको उद्योग सञ्चालक तथा स्थानीयको भनाइ छ । हाल इलाममा हरियो पत्ती भएको बेला बत्ती नै नहुने गरेको बताइएको छ । त्यस्तै बत्ती भएको बेला हरियो पत्ती नआउने गरेकाले यसको तालमेल मिलाउन सरकारी क्षेत्रबाट लाग्नुपर्ने उद्योगीहरूको माग छ । सामान्य पानी पर्दा पनि इलामका ग्रामीण भेगमा बत्ती जाने समस्या बढ्दै गएको छ । एकातिर तयारी चियाको मूल्य कम हुँदै जानु अर्कातर्फ विद्युत् काटिने समस्या बढ्दै जाने गरेकाले आफूहरू मारमा परेको चिया उद्योगीहरूको भनाइ छ ।
नेपालको तयारी चिया हाल भारतले अन्तर्राष्ट्रिय बजारमा लैजाँदा विभिन्न बहाना बनाएर नेपालको चियालाई माथि उठ्न नदिइएको भन्दै चिया किसान तथा उद्योगी सशंकितसमेत भएका छन् । यही मौकामा विद्युत् कार्यालयबाट समेत समयमा सेवा नपाउँदा चिया उद्योगको विकल्प खोज्नुपर्ने दिन आएको उद्योगीहरूको भनाइ छ ।
यता बर्खाको समयमा यस्तै समस्या हुने गरेको विद्युत् कार्यालय इलामका प्रमुख डेगराज पौडेलले बताए । उनले अधिकांश गाउँमा जाने तार जंगल भएर जाने गरेकाले पानी आउँदा रूख लड्ने, पोल भाँचिनेलगायतका समस्या आउने गरेको उनले बताए । नांगो तार फेर्ने काम भइरहेकाले यो तार विस्थापित गरेर एड्भान्स तार प्रयोगपछि यो समस्या स्वत हट्दै जानेसमेत उनको भनाइ छ । विशेष गरेर जिल्लाको पश्चिमी क्षेत्रमा यो समस्या रहेकाले आफूहरूले सक्दो पहल गरिरहेको समेत उनले बताए । पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि बिग्रिएको ठाउँ पत्ता लगाउन समय लाग्ने र मर्मतमा अझ समय लाग्ने प्रमुख पौडेलको भनाइ छ ।
जिल्लाका उपभोक्ताले भने पैसा तिरेर बाल्ने विद्युत् पैसा तिरेपछि पर्याप्त बाल्न पाउनुपर्ने माग राख्दै आएका छन् । मासिक तोकिएको रकम तिर्नैपर्ने भए पनि बिद्युत् काटिएको महिना कम तिर्नुपर्ने प्रावधान ल्याउन सम्बन्धित पक्षको सो क्षेत्रका बासिन्दा तथा उद्योगीहरूको भनाइ छ ।
विदेश निर्यात हुने वस्तुमध्ये चियासमेत मुख्य बालीको रूपमा पर्ने गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब १५ करोड ७६ लाख रुपैयाँबराबरको चिया बाहिरी देश निर्यात भएको बताइएको छ । सोही समयमा २७ करोड रुपैयाँबराबरको ‘ग्रीन टी’ निर्यात भएको बताइएको छ । बर्सेनि बढ्दो स्थितिमा निर्यात भइरहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबाट भारतमा मात्रै २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँको चिया निर्यात भएको तथ्यांक छ । यो नेपालको कुल निर्यातभन्दा जम्मा १६ करोड ८८ लाख रुपैयाँ मात्रै कम हो । अर्थात् नेपालबाट भारतबाहेकको बजारमा जम्मा १६ करोड ८८ लाख रुपैयाँको मात्रै चिया निर्यात हुन्छ । नेपालमा उत्पादित चियाको करिब १० प्रतिशत मात्र खपत हुन्छ । ग्रीन टी विशेष गरेर नेपालका सहरी क्षेत्र र बाहिरी मुलुक निर्यात हुने गरेको छ ।
नेपालबाट निर्यात हुने अर्थोडक्स चियाको हिस्सा भारतीय बजारले ४५ प्रतिशतसम्म ओगट्ने गरेको पाइएको छ ।
तथ्यांक विभागका अनुसार १४ जिल्लामा ११ करोड ६७ लाख ५१ हजार चियाका बोट रहेका छन् । यसबाट वार्षिक १० करोड ८० हजार किलो हरियो चियापत्ती उत्पादन हुन्छ । यसबाट २ करोड २२ लाख ४० हजार किलो प्रशोधित चिया तयार हुने गरेको पाइएको छ ।
इलाममा १ करोड ५९ लाख ७१ हजार, झापामा ८ करोड २५ लाख १७ हजार, पाँचथरमा ७ लाख ६५ हजार, धनकुटामा ३ लाख ९ हजार, तेह्रथुममा १ लाख ५१ हजार र बाँकी नौ जिल्लामा ३ लाख ६८ हजार किलो हरियो पत्ती चिया उत्पादन हुने बताइएको छ ।
८ हजार ८ सय ३८ हेक्टरमा परम्परागत रूपमा चिया खेती हुँदै आएको छ । १ हजार १ सय हेक्टरमा अर्गानिक चिया खेती हुँदै आएको छ भने २ हजार १ सय २९ हेक्टरमा अर्गानिक उत्पादनतर्फ उन्मुख भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्