Logo

सडक ग्राभेल र मेसिनरी वाल निर्माणमा माटोको प्रयोग

नेपालकै सबैभन्दा ठूलो ताल रारा जोड्ने मुगुको ताल्चा–सल्लेरी सडक खण्डमा मेसिनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा सडकको छेउछाउमा रहेको माटो मात्र प्रयोग गरेको पाईएको छ । ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब चार किलोमिटर सडक खण्डमा गुणस्तरहीन वाल लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
सडकको ग्राभेल तथा पहिरो रोक्न मेसिनरी वाल बनाइँदै गरेको मुगुको ताल्च–सल्लेरी सडक खण्ड हो । तर सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो देखिन्न र पहिरो रोक्न वाल निर्माणमा पनि गुणस्तरहीन काम भएको पाइएको छ । सडकको छेउछाउमा मेसिनरी वाल निमार्णमा बालुवा, सिमेन्ट र ढुंगाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटोमात्र प्रयोग गरिएको छ ।
नेपालकै सबैभन्दा ठूलो ताल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका स्वीकार गरेका छन् । आफू कामदार भएको र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरुप काम गर्ने गरेको कामदारहरू बताउँछन् ।
सडक डिभिजन कार्यालय जुम्लाअन्तर्गत दुई करोड ३८ लाख लागतमा नाङजिल एण्ड आकाँक्षा मजदुर जेबीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने काम गरेको हो । सडक निर्माणको काममा गरिएको ग्राभेल राम्रै भए पनि वाल निमार्णमा गुणस्तरहीन सामग्री प्रयोग गरेको स्थानीय सरोकारले बताए ।
यस सडकको लम्बाइ चार किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसिनरीवाल निमार्णमा टालटुल गरेको पाइन्छ । यो सडकको कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधरमा प्रतिघनमिटर एक हजारका दरले भुक्तानी गर्ने गरेको खुलेको छ । त्यसैले पनि कामदारले गुणस्तरभन्दा क्वान्टिटी कसरी पुर्‍याउने भन्ने हुँदा जथावाभीभित्र मसाला नहाली बाहिर टाल्ने गरेका छन । ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर गैरजिम्मेवार रूपमा काम गरेको देखिएको छ ।
हरेक वर्ष सडक डिभिजन कार्यलय जुम्लाले सडक निर्माणमा करोडांै बजेट विनियोजन गरेको पनि यहाँका सडकको अवस्था भने उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्