पुल निर्माण ढिलाइ हुँदा यातायात सञ्चालनमा समस्या «

पुल निर्माण ढिलाइ हुँदा यातायात सञ्चालनमा समस्या

मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने विभिन्न खोलामा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको छ ।
पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर लामो सडकखण्डको करिब ३५ किलोमिटर कालोपत्रे सम्पन्न भए पनि बीच भागमा पर्ने खोलामा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो ।
बगुवा माटो (पहिरो झरिरहने) रहेको छेपेखोलामा मोटरेबल पक्की पुल निर्माण गर्न जग खनिएको खाल्डोका कारण माथिल्लो भागबाट निरन्तर पहिरो झर्दा पटक–पटक यायायात अवरुद्ध हुँदै आएको छ । सगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको उक्त छेपेखोलाको मोटरेबल पक्की पुलका लागि एउटा पिलरमात्र ठड्याएर अलपत्र अवस्थामा छाडिएको छ ।
ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा यातायात सञ्चालनमा समेत समस्या भएको छ । पक्की पुल नहुँदा पटक–पटक अवरुद्ध हुँदै आएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड अन्तर्गत छेपेखोलामा गएको पहिरोको अनुगमनका लागि शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको टोली प्राविधिकसहित छेपेखोला पुगेको थियो । टोलीले पटक–पटक अवरुद्ध हुँदै आएको सडकलाई तत्काल बाह्रै महिना सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
दिक्तेल–चखेवा सडकखण्डमा पर्ने खोलामा चाँडोभन्दा चाँडो पक्की पुल निर्माण गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख भट्टराईले बताए । “पुल निर्माणमा भएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” नगरप्रमुख भट्टराईले भने, “सम्बन्धित ठेकेदार कम्पनी र सडक विभागसँग निरन्तर सम्पर्क भइरहेको छ । ठेकेदार कम्पनीले हिउँद लागेपछि निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । यदि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नगरे कानूनी कारबाही गर्छौं ।”
पक्की पुल अभावमा खोलामाथि बगर बिच्छ्याएर यातायात सञ्चालन गर्दै आइएको उक्त सडकखण्ड अवरुद्ध भएको समयमा पटक–पटक दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिकाको जेसीबी प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरिएको छ ।
नेपाल सरकारको करिब एक अर्ब लगानीमा ६ वर्षअघि कालोपत्रे सुरु गरिएको उक्त दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको खोटाङस्थित पंखुखोला, मेवाखोला, छेपेखोला र भालुखोलामा पक्की पुल निर्माण भएका छैनन् । कालोपत्रको काम सम्पन्न भइसकेको बाँझेच्यानाँडा–दिक्तेल सडकखण्डमा पर्ने पंखुखोला र छेपेखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र अवस्थामा छन् ।
पंखुखोलामा निर्माणाधीन पक्की पुल वि.सं २०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी सिरुवा कन्स्ट्रक्सन प्रालिले वि.सं २०७२ साल असोजमा ठेक्का सम्झौता गरेको थियो । १५ मिटर लामो उक्त मोटरेबल पक्की पुलका लागि दुवैपट्टि पिलर ठड्याइए पनि लामो समयदेखि ठेकेदार सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
यता, मेवाखोला र भालुखोलामा निर्माण गरिने मोटरेबल पक्की पुलको ठेक्का लागेको लामो समय बितिसके पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । छिमेकी जिल्ला भोजपुरसँग जोडिएको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ) का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायतमा भने यसअघि नै पक्की पुल तयार भइसकेका छन् । बाँकी चारवटा खोलामा पक्की पुल नबनेसम्म वर्षात्को समयमा नियमित यातायात सञ्चालन हुने अवस्था छैन ।
पाँच खण्डमा विभाजन गरेर वि.सं २०७२ चैतबाट दिक्तेल–चखेवाभञ्ज्याङ सडकको विभिन्न खण्डमा कालोपत्रे गर्न थालिएको थियो । सेखुवा–दिक्तेल ३६ किलोमिटरमा रमन–गोल्डेन गुड जेभी र चखेवाभञ्ज्याङ–सेखुवा १० किलोमिटर सडकखण्ड भरत–मैनाचुली–सिद्धिसाई जेभीले कालोपत्रको जिम्मा लिएको थियो ।
चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको १० किलोमिटर तथा पुल निर्माण गर्न बाँकी ठाउँको सडक कालोपत्रे भएको छैन । चखेवाभञ्ज्याङदेखि सेखुवासम्म कालोपत्रेका लागि सडक फराकिलो पार्ने तथा नाली र पर्खाल लगाउने काम सम्पन्न भए पनि चिसो मौसमका कारण कालोपत्रे गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्