चुनाव नजिकिएसँगै पूर्वप्रधानमन्त्रीको सक्रियता «

चुनाव नजिकिएसँगै पूर्वप्रधानमन्त्रीको सक्रियता

इलामको सूर्योदय नगरपालिकामा ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा यस स्थानीय तहमा सडक र बसपार्क निर्माण हुने भएको हो ।
बहुबर्से आयोजनाका रुपमा संचालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्र्तगत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले जानकारी दिए । उनका अनुसार बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर काम अगाडि बढाइएको हो ।
एकीकृत विकासअन्तर्गत सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । आयोजनाअन्तर्गत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुनेछ ।
मेयर राईका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ । उनले चाँडै सम्झौता भएर काम सुरु हुने बताए । विभागका उपमहानिर्देशक भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । नगरभित्र यससहित १० वटा योजना विभागबाट सञ्चालन हुने बताइएको छ ।
नगरपालिकाको अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेसनसमेत आयोजनाअन्तर्गत गरिनेछ । यी आयोजनाको भर्खरै सहरी विकासमन्त्री मेटमणि चौधरी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटनसमेत गरेका छन् ।
शिलान्यासपछि पूर्वप्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । सहरी विकासमन्त्री चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वधार पर्ने गरि आयोजनाले काम थालनी गर्ने बताए । उनले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
यी कामहरू अगाडि बढेसँगै नगरमा विकासले गती लिने नगरपालिकाले जनाएको छ । यस्ता विकासका आयोजनाले पर्यटकीय नगरीका रुपमा विकास भइरहेको सूर्योदय नगपालिकामा अझ धेरै पर्यटकहरू भित्रिने अपेक्षा लिइएको छ । केहीले यसलाई समृद्ध नगर निर्माणमा ठूलो भूमिका हुने भन्दै प्रसंशा गरेका छन् ।
केहीले खर्भरै भएको शिलन्यासलाई चुनावी एजेण्डाका रुपमा अगाडि बढाइएको समेत बताएका छन् । असोज १ गतेबाट आचारसंहिता लाग्ने भएपछि पूर्वप्रधानमन्त्री खनालले एकै दिन ६ वटा आयोजनाको उद्घाटन गरेका हुन् । बितेका पाँच वर्षसम्म खासै आफ्नो निर्वाचन क्षेत्र तथा गृह जिल्ला नआएका उनले निर्वाचन अघि यस्ता आयोजना थालनी गर्नु चुनावी एजेन्डा मात्र बनाएको भन्दै उनको आलोचनासमेत सुरु भएको छ ।
यस अघि पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासका गति अघि बढाइएको भए पत्याउन सकिने भएपनि यस्ता शिलन्यासले मात्र काम पूरा हुनेमा ढुक्क हुन नसकिने बताउँदै आएका छन् ।
पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा अझै पनि धेरै सडकहरू १२ महिना नै सवारी सञ्चालन हुनेगरिका छैनन् । स्थानीयले अझैपनि बिरामी पर्दा मान्छेकै सहायताले मात्र उपचार गराउन लैजानु पर्ने अवस्था भएको भन्दै खनालको यसअघिको क्रियाकलापदेखी यहाँका जनता असन्तुष्ट छन् । शिलन्यासले मात्र काम पुरा हुने यसअघिका धेरै सरकारका प्रतिनिधिले धेरै ठाउँमा शिलन्यास गरे पनि । तर, आयोजना अधुरै भएका कारण सरकारी लगानी बालुवामा पानी झैँ भएको छ । स्वास्थ्य, शिक्षा, सडकमा सय अघि नगएको ध्यान अव चुनावको मुखमा मात्र जानु भनेको पुन: जनतालाई फकाएर भोट माग्नुे खेल भएको स्थानिय अगुवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्